मुस्कानमाथि एसिड प्रहार गर्नेहरुलाई बालसुधार गृहमा राख्न आदेश


कृष्णउदास खनाल,वीरगन्ज।

जिल्ला अदालत पर्साले मुस्कान खातुनमाथि एसिड प्रहार गरेका अभियुक्तलाई मुद्दा पुर्पक्षका लागि बाल सुधार गृहमा राख्ने आदेश दिएसँगै आफूहरुमाथि अन्याय भएको पीडित परिवारका सदस्यहरुले बताएका छन् । जिल्ला न्यायाधीश प्रकाश खरेलको एक नम्बर इजलासले अनुसन्धानका क्रममा उमेर पुगेको प्रमाण पेस नभएकाले बाल सुधार गृहमा राख्ने आदेश दिएको स्रेस्तेदार कृष्णप्रसाद अधिकारीले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय पर्साले खातुनमाथि एसिड प्रहार गरेका माजिद मियाँ र सम्साद मियाँलाई घटनाकै दिन नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । प्रहरीका अनुसार माजिदले राखेको प्रेम प्रस्ताव नस्विकारेपछि उनका साथी सम्सादले गत भदौ २० गते विद्यालय जाने क्रममा खातनुमाथि एसिड प्रहार गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय, पर्साले प्रमाण सङ्कलन गरी उमेरको हकमा मजीद मियाँलाई १९ वर्ष र शमशाद मियाँलाई १८ वर्ष तोकेर पठाएको देखिन्छ । नारायणी अस्पतालले प्रहरीलाई प्रमाणस्वरूप उपलब्ध गराएको मेडिकल रिपोर्ट अनुसार शमशाद आलमको उमेर १६ देखि १८ वर्ष र मजीदको १८ देखि २० वर्ष तोकिएको छ ।

घरपरिवारले अदालतमा पेश गरेको जन्मदर्ता अनुसार मजीदको २०६२ वैशाख १ गते र शमशादको २०६४ सालमा जन्म भएको थियो ।यस विषयमा मुख्य न्यायाधीश प्रकाश खरेलले सबुत प्रमाणले दोषी भेटिए पनि उमेर यकिन नहुँदा बालबालिका संरक्षण ऐन २०७५ अनुसार दुवैजनालाई सुधारगृहमा पठाएको बताउनुभयो ।

प्रहरीले दाबी गरेको प्रमाण र मेडिकल रिपोर्टको आधार मान्दा न्यूनतम उमेरलाई कानूनले आधार मानेकोले सोहीअनुरूप दुवैजनाको उमेर १६ देखि १८ वर्ष देखिएकोले नाबालिगको हकमा बाल सुधारगृहमा पठाएको बताउनुभयो ।

अदालतका श्रेस्तेदार कृष्णप्रसाद अधिकारीले नाबालिगको हकमा पुर्पक्ष नहुने तर बाल सुधारगृह पठाइएको जानकारी दिनुभयो । प्रहरीले दुवैजनामाथि ज्यान मार्ने नियत तथा तेजाबलगायत अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी कुरूप पारेको मुद्दा दर्ता गरेको थियो ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ अनुसार शमशादमाथि ५ देखि ८ वर्ष कैद र रु १ लाखदेखि ५ लाखसम्म जरिवाना तथा मजीदमाथि १० वर्ष कैद र रु १ लाख जरिवानाको मागदाबीसहित जिल्ला अदालतमा फाइल दर्ता गरेको थियो ।