१११ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

0
Shares

काठमाडौँ। चन्द्रागिरि नगरपालिका–१२ बलम्बुस्थित देःपखा भित्रका १११ घर/जग्गाको धनी प्रमाणपत्र पूर्जा वितरण गरिएको छ । विसं २०२१ सालमा गरिएको नापीका क्रममा छुटेका बलम्बु गाउँ ब्लक एरियामा रहेका घर जग्गाको चारकिल्ला छुट्टयाइ सम्बन्धित जग्गा धनीलाई नगरपालिकाको पहलमा धनीपूर्जा वितरण गरिएको हो ।

नगरपालिकाले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख घनश्याम गिरी, नापी कार्यालयका प्रमुख सुरेश जोशी, वडा अध्यक्ष प्रकाश श्रेष्ठलगायतले नगरवासीलाई जग्गाधनी प्रमाणपत्र पूर्जा हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा नगरप्रमुख गिरीले नगरवासीको चाहनालाई सम्बोधन गर्नेगरी कामकारबाही अगाडि बढाइरहेको बताउनुभयो । वडाध्यक्ष श्रेष्ठले स्थानीय तहको निर्वाचनका क्रममा घोषणापत्रमा उल्लेख गरिएअनुसार नै पूर्जा उपलब्ध गराइएको बताउनुभयो ।

नगरक्षेत्र भित्र रहेका अन्य घर/जग्गा विहीन नगरवासीलाई पनि धनी प्रमाण पूर्जा वितरण गरिने नगरपालिकाले जनाएको छ । जग्गाधनी प्रमाणपूर्जा विहीन नगरवासीलाई पूर्जा उपलब्ध गराउन नगरपालिकाले पहल गर्दै आएको थियो । कार्यक्रममा ८० वर्ष नाघेको ७५ ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको थियो । त्यस्तै १२ जना स्वास्थ्य स्वयम्सेविकालाई सम्मान गरिएको थियो ।