दुईदिने राष्ट्रिय परामर्श कार्यशाला गोष्ठी सम्पन्न


न्युज अफ नेपाल, काठमाडौँ ।

महिला र गरिबी, महिला वातावरण, महिलाको मानव अधिकार र महिला शिक्षा र तालिमसहित १२ वटा महिलासम्वन्धी विषयमा व्यापक छलफलसहित घोषणापत्र सार्वजनिक गर्दै राष्ट्रिय परामर्श कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

बेईजिङ्ग समिक्षाका लागि राष्ट्रिय सञ्जाल नेपालद्वारा राजधानीमा विहीवार र शुक्रवार दुई दिन आयोजित ‘बेइजिङ्ग प्लस २५ समीक्षा’ विषयक कार्यशालाले महिला, यौनिक अल्पसङ्ख्यक, दलितलगायत सिमान्तकृत वर्ग, समुदायसहितको हक र हितका लागि सामुहिक पहल गर्न शुक्रवार घोषणापत्र जारी गरेको हो ।

२५ वर्ष अगाडि चीनको राजधानी बेईजिङ्गमा चौथो विश्व महिला सम्मेलनको आयोजना गरेर विश्वभरकै महिलाको सशक्तिकरणको लागि स्पष्ट खाकासहित कार्यक्रम सार्वजनिक भएको थियो । त्यस अवसरको अहिले नेपाललगायत विश्वभर नै ‘बेइजिङ्ग प्लस २५ ’ शीर्षकमा पुनरावलोकन कार्यक्रम चलिरहेको छ ।

यसै सन्दर्भमा महिला कानुन र विकास मञ्चलगायत बेईजिङ्ग समिक्षाका लागि राष्ट्रिय सञ्जाल नेपालले सातै प्रदेशमा समिक्षात्मक कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रमलाई सम्वोधन गर्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले महिला सशक्तिकरणको लागि लामो समयदेखि प्रयास जारी छ । यस विषयलाई बेइजिङ्गमा भएको चौथो विश्व महिला सम्मेलनले बुँदागत रूपमै स्पष्ट कार्यक्रम सार्वजनिक गरी विश्वभरकै महिला सशक्तिकरणमा बल पु¥याएको बताउनुभयो ।

उहाँले उक्त विषयलाई सम्वोधन गर्ने गरी नेपालमा केही उपलब्दी हासिल भएपनि त्यसको निरन्तरता र अझै तदारूकतासाथ काम गर्नुपर्नेमा जोड दिनुभयो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले उद्घाटन गर्नुभएको राष्ट्रिय कार्यशाला गोष्ठीमा महिला र वातावरण, महिला र अर्थतन्त्र, महिला र सञ्चार, महिला शिक्षा र तालिम,बालिका, महिला विद्ध हिंसा, महिला र गरिबीसहितको १२ वटा महत्वपूर्ण विषयमा छुट्टा–छुट्टै समुहगत छलफल गरिएको थियो । गोष्ठी समापन समारोहमा उक्त मन्त्रालयका सचिव चन्द्रप्रसाद घिमिरेले प्राप्त उपलब्दीलाई संरक्षण गर्दै सशक्तिकरणको क्षेत्रमा निरन्तर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

सशक्तिकरण घरैबाट सुरू गर्नुपर्ने कुरा मनन गर्दै आफुले व्यवहारमै अभ्यास गरिरहेको पनि प्रष्ट पार्नुभयो । राष्ट्रिय महिला आयोगका सचिव दीपेन्द्र काफ्लेले आयोग लामो समयदेखि पदाधिकारीविहीन भएपनि आफुले महिला बालबालिकाको क्षेत्रमा काम गरिरहेको बताउनुभयो ।

कार्यक्रममा महिला कानुन र विकास मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले सोही सम्मेलनले समानताको अभियान विश्वभर सञ्चालन गर्न उत्प्रेरित गरेको २५ वर्ष पुगेको अवसरमा नेपालले राष्ट्रिय परामर्श कार्यशाला गोष्ठीको आयोजना गरेर अभियानको समीक्षा गरिरहेको बताउनुभयो ।

उहाँले जिल्ला, प्रदेशस्तरमा पनि एकल महिला, दलित, यौनिक अल्पसङ्ख्यकलगायत सबै क्षेत्रलाई समेटिने गरी समिक्षात्मक कार्यक्रमको सम्पन्न गरिसकेको जानकारी दिनुभयो । कार्यक्रममा सिड कमिटिका उपाध्यक्ष वन्दना राणाले चौथो विश्व महिला सम्मेलनमा सहभागी हुँदाको अनुभव साट्दै उहाँले २५ वर्षमा नेपालमा महिला अधिकारको क्षेत्रमा धेरै नै परिवर्तन आएको छ भन्नुभयो ।

महिला अधिकारकर्मी चाँदनी जोशीले चौथो विश्व महिला सम्मेलनमा सहभागी भएर महिला सशक्तिकरणको साङ्केतिक नमुना ‘टर्च’ बाल्दा विश्वकै महिला यस्तै ज्वाला बनेर सबै असमानतालाई हटाएर अगाडि बढ्ने प्रतिवद्धता गरेका थियौं । नेपाल फर्केर यस विषयमा काम गर्दा–गर्दा कपाल फुलाएँ, यसको सकारात्मक प्रभाव पनि देख्न थालिएको छ अब यस क्षेत्रमा नयाँ पिढीले हातेमालो गरेको देख्दा अत्यन्त खुसी लाग्छ भन्नुभयो ।

त्यसैगरी तुलसालता अमात्यले सो सम्मेलनमा सहभागी हुँदा विश्वभरकै महिलाले विभेद खेपीरहेको पाइएको र अहिले पनि नेपाललगायत विश्वका महिला सशक्तिकरणको बाटोमा लम्किदैछौं भन्नुभयो । महिला कानुन र विकास मञ्चका अध्यक्ष मिरा ढुङ्गानाले समस्या त जहाँ पनि हुन्छ । त्यसको समाधानका लागि गर्ने प्रयास नै उक्त सम्मेलनले निर्णय गरेका बुँदाहरूको कार्यान्वयन हो भन्नुभयो ।

कार्यक्रममा महिला सशक्तिकरणमा योगदान पु¥याउनुभएका अधिकारकर्मी दुर्गा घिमिरे, विना प्रधान र अम्विका श्रेष्ठलाई सम्मान गरिएको थियो ।