ट्रम्प र पुटिनलाई नेपाल ल्याउने तयारी गर्दै सरकार

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनको नेपाल भ्रमणका लागि सरकारले प्रयास गरिरहेको बताएका छन् ।

सञ्चार मन्त्रालयमा बिहिबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता बाँस्कोटाले शक्ति राष्ट्रका राष्ट्रपतिलाई नेपाल भ्रमणमा आमन्त्रणका लागि प्रयासरत रहेको बताएका हुन् ।

सरकार शक्ति राष्ट्रका राष्ट्र प्रमुखलाई नेपाल भ्रमणमा ल्याउन इच्छुक र प्रयासरत रहेको बताए पनि उनले भ्रमणको समयबारे भने खुलाउन नसकिने बताए ।

उनले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण भन्नका लागिमात्रै ऐतिहासिक नभनिएको बताए । सीको भ्रमणका क्रममा भएको २० बुँदे समझदारीले नेपाल र चीनबीच राजनीतिक सम्बन्ध, विकास सम्बन्धलगायतका सम्बन्धहरु बलियो बनेको बाँस्कोटाले बताए ।

मन्त्रिपरिषद् बैठकले गरेका निर्णयको बारेमा जानकारी दिँदै मन्त्री बाँस्कोटाले सरकारी, सार्वजनिक गुठी, सरकारद्वारा अधिग्रहण तथा जफत गरिएका जग्गाहरुको हिनामिना सम्बन्धी छानविन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गठित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को छानविन समितिको म्याद आगामी मंसिर २८ गतेसम्मका लागि थप गरिएको जानकारी दिए ।