प्लटिङ गर्दै बेचियो विद्यालयको जग्गा

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे। बनेपाको चक्रज्योति माध्यमिक विद्यालयको करिब १० रोपनी जग्गा प्लटिङ गर्दै बिक्री गरिएपछि मालपोत कार्यालयले रोक्का गरेको छ। २०२२ सालदेखि विद्यालयको नाममा रहेको जग्गा व्यक्तिले बिक्री गरेकोमा स्थानीय जनताले विरोध गरेपछि रोक्का भएको हो।

विद्यालयको जग्गा स्थानीय वासु थापा र केशवबहादुर थापासँग मिली जग्गा व्यवसायी लक्ष्मी प्रसाईंले खरिद गरी प्लटिङ गर्नुभएको हो। चलनचल्तीको मूल्यअनुसार विद्यालयको नाममा रहेको उक्त जग्गा झन्डै २२ करोड रुपियाँको छ।

विद्यालयलाई दान गरेको जग्गामा दाताहरूले नै मुद्दा गरेपछि बागमती अञ्चल अदालतले २०३५ साल जेठ ८ गते विद्यालयको नाममा जग्गा दर्ता गरी पुर्जा बनाउन र कसैले कुनै प्रयोजनका लागि बिक्री वितरण गर्न नमिल्ने फैसला सुनाएको थियो।

उक्त फैसला आउनु अगावै मुद्दा पैरवी भएकै बखत आफै मुद्दा दर्ता गर्ने शम्भुबहादुर थापाले २०३१ साल असार १९ गते उक्त जग्गा आफ्नो नाममा दर्ता गराउनुभएको थियो। साँगा नासिकास्थान गाउँ पञ्चायत वडा नम्बर १ मा पर्ने कित्ता नम्बर १३३, १३४ र १२७ का कित्ता विद्यालयको नाममा कायम भई नाप–नक्सा भएको थियो। सोही आधारमा विद्यालयले २०३९ साल असोज १० गते पुर्जा बनाएको थियो।

मालपोत कार्यालय काभ्रेले दोहोरो स्रेस्ता कायम राखेकै कारण २०५५ साल पुष २५ गते उग्रतारा जनागाल गाविस घर भएका शम्भुबहादुर थापाले उक्त जग्गा कित्ताकाट गर्नुभयो। थापाले भाइहरू केशव र वासुदेव थापालाई कित्ता नम्बर १ सय २७ बाट बकसपत्र गरी दिनुभयो। बकसगरी लिएको जग्गा केशवबहादुर थापाबाट २०७४ साल जेष्ठ ११ गते लक्ष्मी प्रसाईंले खरिद गर्नुभयो।

२०७६ साल असार २३ गते वासु थापाले लक्ष्मी प्रसार्इंकै टेम्पलट्री डेभलपर्स प्रालि काठमाडौं महानगरपालिका १ का नाममा खरिद गर्नुभयो। पहिलो पटक किनेको जग्ग्गा प्रसार्इंले कैलाश विकास बंैक मंगलबजार ललितपुरका नाममा रोक्का राखी २ करोड ऋण स्वीकृत गराउनुभयो।

लक्ष्मी प्रसार्इंले झन्डै २ सय रोपनी जग्गा प्लटिङ गर्नुभएको छ। सार्वजनिक र विद्यालयको जग्गासमेत प्लटिङ हुँदा स्थानीयले पटक–पटक रोकेका थिए। विद्यालयले समेत पटक–पटक बोलाउँदा प्रसाईं छलफलमा आउनुभएन। विद्यालयले आफ्नो जग्गाको सीमांकन गर्न गाडेको सिमेन्टको पोल समेत प्लटिङका कारण भत्किएको छ।

जग्गा प्लटिङ गर्दा संधियारको सहमति लिनुपर्नेमा त्यस्तो नभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिभक्त श्रेष्ठले बताउनुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिभक्त श्रेष्ठका अनुसार विद्यालय व्यवस्थापन समितिले विद्यालयको जमिनलाई समेत असर पर्नेगरी प्लटिङ रोक्न जग्गा व्यवसायी लक्ष्मी प्रसाईंलाई पटक पटक अनुरोध गर्दा पनि उहाँ आउनुभएन।

विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष ईश्वरलाल धौगोडाले बताउनुभयो, ‘विद्यालयको जग्गा प्लटिङ भएको जानकारी पाएलगत्तै प्रधानाध्यापक चन्द्रप्रभा शाक्यले मालपोत कार्यालय काभ्रेलाई पत्र पठाई जग्गा संरक्षण र दोहोरो स्रेस्ता कायम भएको हटाउन अनुरोध गर्नुभएको थियो।’

बनेपा नगरपालिका वडा नम्बर १३ ले विद्यालयको नाममा रहेको उक्त जग्गा ब्यक्तिका नाममा भएको लालपुर्जा पेस गरेका आधारमा घर बाटो सिफारिस दिएको छ। अध्यक्ष सूर्यनारायण नापितले विद्यालयको जग्गा भन्ने जानकारी भएलगत्तै मालपोत कार्यालयलाई पत्र पठाई दोहोेरो स्रेस्ता हटाउन अनुरोध गरिएको बताउनुभयो।

जग्गाको दोहोरो स्रेस्ता हटाउनतर्फ कारबाही गर्ने र कारबाहीको टुङो नलागुन्जेलसम्म उपरोक्त कित्ता जग्गा मालपोत ऐन २०३४ को दफ (८) बमोजिम रोक्का राख्ने निर्णय गरिएको छ। प्रमुख मालपोत अधिकृत शालिकराम आचार्यले २०३९ सालमा भुलबस स्रेस्ता नकाटिएका कारण दोहोरो स्रेस्ता कायम रहन गएकाले कित्ता नम्बर १ सय २७ बिक्री वितरण भएको स्वीकार गर्नुभयो।