तोप्चेनलाई काठमाडौँ लगियो

0
Shares

संखुवासभा, (नेस)।संखुवासभाको भोटखोला गाउँपालिका–२ लिङ्गमको घटे्खोलामा ५ किलो सुनसहित पक्राउ परेका २६ वर्षीय तोप्चेन भोटलाई बिहीबार थप अनुसन्धानका लागि काठमाडौं पठाएको छ। यति एयरलाइन्सको जहाजबाट बरामद गरेको सुनसहित भोटेलाई तुम्लिङटारबाट काठमाडौं पठाएको प्रहरीले जनाएको छ।

अवैध ५ किलो सुनसहित पक्राउ परेका भोटेलाई बुधबार जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरेको थियो। संखुवासभा प्रहरी नायब उपरीक्षक मीमबहादुर लामाले पक्राउ परेका भोटेलाई थप कानुनी प्रक्रिया अघि बढाउन राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएकोे बताउनुभयो। पक्राउ परेका भोटेले आफू भरिया भएको र सुन खाँदबारी तर्फ लगेको बताएका छन्।

चीनको तिब्बतबाट जिल्लाको किमाथांका नाका हुँदै खाँदबारीतर्फ ठूलो परिमाणको अवैध सुन तस्करले ल्याउँदै गरेको सुराकीको आधारमा प्रहरी चौकी चेपुवाको टोलीले जिल्लाको भोटखोला गाउँपालिका–२ लिंगमको घटे्खोलामा भोटेलाई पक्राउ गरेको थियो। उनको झोला चेक जाँच गर्ने क्रममा झोला भित्र ज्याकेटले बेरेर लुकाएको अवस्थामा १ किलो बराबरका ५ थान सुन बरामद गरिएको बताइएको छ।

पक्राउ परेको ५ किलो सुनको मुल्य ३ करोड ७ हजार बराबरको रहेको छ। यति ठुलो परिमाणको सुन संखुवासभामा पक्राउ गरिएको पहिलो रहेको छ। पक्राउ परेका भोटे सुन ओसार–पसार गर्ने भरिया भएका र मुख्य लगानी कर्ता हुन सक्ने भएकाले थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।

जिल्लाको सदरमुकाम खाँदबारीबाट गाडी र पैदल गरी २ दिन टाढा रहेकाले भोटेलाई सोमबार पक्राउ गरिएपनि सदरमुकामसम्म ल्याउन समय लागेको थियो। पक्राउ परेका भोटे जिल्लाको मकालु गाउँपालिका ४ घर भएका र हाल खाँदबारी १ मा बस्दै आएका थिए।