पर्यटन र संस्कृतिका क्षेत्रमा सहकार्य गर्न नेपाल–म्यानमार सहमत

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।नेपाल र म्यानमार पर्यटन र संस्कृतिका क्षेत्रमा सहकार्य गर्न सहमत भएका छन्। यस्तो विषयको समझदारीपत्रमा दुवै मुलुकबीच बिहीबार हस्ताक्षर भएको हो।
म्यानमार भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी र सो मुलुकका स्टेट काउन्सिलर आङ साङ सुकीको उपस्थितीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र म्यामारका अन्तर्राष्ट्रिय सहयोगमन्त्री क्य तिनबीच हस्ताक्षर भएको हो। यसअघि राष्ट्रपति भण्डारी र स्टेट काउन्सिलर सुकीबीच प्रेसिडेन्सियल हाउसमा भएको भेटवार्ता परराष्ट्र मन्त्रालयले जनाएको छ।

भेटवार्ता दुवै मुलुकबीचको मित्रतालाई अझ प्रगाढ बनाउने बारेमा केन्द्रित रहेको बताइएको छ। राष्ट्रपति भण्डारी सो मुलुकका समकक्षी उ बिन मिन्टको औपचारिक निमन्त्रणामा बुधबारदेखि म्यानमारको राजकीय भ्रमणमा हुनुहुन्छ। दुवै राष्ट्रपतिबीच बिहीबार प्रेसिडेन्सियल हाउसमा भेटवार्ता भएको र सो भेटवार्ता द्धिपक्षीय चासोमा केन्द्रित रहेको थियो।

राष्ट्रपति भण्डारीसँग बिहीबार नै म्यान्मारका सेना प्रमुख मिन आङ ह्यलिङले शिष्टाचार भेट गर्नुभएको छ। म्यानमारमा रहँदा राष्ट्रपति भण्डारीले युनेस्कोको विश्व सम्पदा बगान र राजधानी ने पि तोको भ्रमण गर्ने कार्यतालिका तय भएको परराष्ट्रले जनाएको छ।