कक्षा ८ सम्मका सबै पुस्तक रंगीन

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं।आउँदो शैक्षिक सत्र २०७७ देखि कक्षा १ देखि ८ सम्म अध्ययन गर्ने विद्यार्थीले रंगीन पाठ्यपुस्तक पढ्न पाउने भएका छन्। त्यसको अन्तिम तयारी गरिरहेको पाठ्यक्रम विकास केन्द्रले ६ देखि ८ कक्षासम्मको पाठ्यपुस्तक निर्माण अन्तिम चरणमा पुर्याएको छ।

चार वर्षअघि कक्षा १–३ र दुई वर्षअघि ४ र ५ को पाठ्यपुस्तक रंगीनमा छपाइ गरेको थियो। यो वर्ष ६–८ सम्म गरी तीनवटा कक्षाका पुस्तक रंगीन छाप्न लागिएको हो।
सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा कक्षा ६ देखि ८ सम्मको पाठ्यपुस्तक रंगीन छाप्ने उल्लेख गरेको थियो।

चित्रलगायत केही विषयवस्तुलाई रंगीनमा छाप्नुपर्ने भएकाले ती सामग्री परिवर्तन गर्ने काम भइरहेको जानकारी दिँदै पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक डा. लेखनाथ पौडेलले भन्नुभयो– ‘तिहारलगत्तै जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई कम्प्युटर रेडी कपी (पीआरसी) बुझाउनेछांै।’

उहाँका अनुसार केन्द्रले पीआरसी उपलब्ध गराएलगत्तै जनक शिक्षाले पुस्तक छाप्नेछ। एउटा कक्षाको २१ वटा किताब करिब ४ लाख सेट रंगीनमा छापिनेछ।
जनक शिक्षाका महाप्रबन्धक महेशप्रसाद तिमल्सिनाले अहिले कक्षा ९ र १० को पाठ्यपुस्तक छपाइ भइरहेको जानकारी दिँदै उक्त छपाइ सकिएलगत्तै कक्षा ६–८ को रंगीन पुस्तक छाप्ने बताउनुभयो।

९ र १० कक्षाको पुस्तक एकै रङमा छापिनेछ। जनक शिक्षाले आगामी शैक्षिक सत्रमा सबै पाठ्यपुस्तक उडफ्री कागज प्रयोग गर्ने भएको छ।अन्य कागजको तुलनामा सफा र धूलोरहित हुने भएकाले पहिलोपटक उडफ्री कागज प्रयोग गर्न लागेको हो।

६–८ कक्षाको पुस्तक रंगीन हुने भएपछि शैक्षिकसत्र २०७६ मा बिक्री गरी बाँकी भएका करिब ६ लाख पुस्तक कवाडीको भाउमा बिक्री हुनेछ।महाप्रबन्धक तिमल्सिनाले पुराना किताब व्यस्थापनका लागि बोर्डबाट निर्णय हुन बाँकी रहेको बताउनुभयो। केन्द्रले कक्षा ९ र १० को करिब ८० लाख थान र कक्षा ६–८ को करिब १ करोड थान पाठ्यपुस्तक छाप्नेछ।