भीरबाट खसेर दुई जनाको ज्यान गयो


न्युज अफ नेपाल, अछाम ।

अछाममा भीरबाट खसेर दुई जनाको ज्यान गएको छ । जिल्लाको रामारोशन गाउँपालिका ७ सुतारका १० वर्षीय अम्मर भण्डारी र बान्नीगढ जयगढ गाउँपालिका ६ दर्नाका ५२ वर्षीय नारायण शाहको ज्यान गएको हो ।

भण्डारीको बाख्रा चराएर फर्किने क्रममा र शाहको दाउरा काट्न जाने बेलामा भीरबाट खसेर बुधबार ज्यान गएको प्रहरीले जनाएको छ । भीरबाट लडेर करिब ५० मिटर तल बाँसको झारीमा परेका भण्डारीको घटनास्थलमै ज्यान गएको स्थानीयले बताएका छन्। मृतक भण्डारी कालिका इङ्लिस बोर्डिङ स्कुलका कक्षा १ का छात्र हुन्।

साँझ अबेरसम्म पनि घर नआएपछि परिवारले खोजी गर्दा दाउरा काटेको स्थानदेखि करिब ५० मिटर तल शाह मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय, अछामले जानकारी दिएको छ ।