राम्रो बनाउन खोज्दा दशैंअघि आएन पानीजहाज


हेटौंडा, (नेस) ।

यात्रीलाई दिइने सुबिधा, सजावट र सुरक्षा प्रवन्धले समय लिँदा गएको दशैंबाट नेपालमा पानीजहाज सयर गर्न पाइने सपना सँगालेका नेपालीहरुको उक्त सपना पूरा भएन ।

नेपालमा पहिलोपटक नारायणी नदीमा निर्माण र सञ्चालन हुन लागेको रिभरक्रुज सिप (पानीजहाज) दशैंअघि नै सञ्चालनमा आउने भनिएको थियो । रिभर क्रुज निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रवन्ध निर्देशक रामचन्द्र कँडेलका अनुसार क्रुज सिप निर्माणको अन्तिम चरणको काम भइरहेको छ ।

उहाँका अनुसार बढीमा एक महिनाभित्र क्रुज सञ्चालनमा आउनेछ । दैनिक १८ घण्टासम्म काम गरी क्रुज सिप सञ्चालन गर्ने तयारी गरिएको उहाँले दाबी गर्नुभयो । उहाँले रंगरोगन, टेबलकुर्सी, प्रकाशको समुचित व्यबस्थापन र सिसा जडानलगायत कार्यका लागि काममा केही ढिलाइ भएको स्वीकार गर्नुभयो ।

‘पहिला दुईतले जहाजको परिकल्पना गरी काम थालिए पनि हाल त्यसको डिजाइनमा निकै राम्रो परिवर्तन गरिएको छ,’ प्रवन्ध निर्देशक कँडेलले भन्नुभयो–अब क्रुज अढाई तले हुनेछ । क्रुजको माथिल्लो भागको स्वरुपमा निकै राम्रो परिवर्तन गरी अझ आकर्षक बनाइएको उहाँले जनाउनुभयो ।

नारायणी नदीमा पानीजहाज सञ्चालनका लागि सिंगापुर र भारतका प्राविधिकले एक वर्षसम्म जलप्रवाह मापन तथा अन्य चुनौती अध्ययन र पर्यावरणीय प्रभाव मूल्यांकन गरेका थिए । पानीजहाज निर्माणका लागि स्वरुपमा परिवर्तन गर्दा पनि करिब २५ करोड खर्च अनुमान गरिएको छ ।

भारतको ग्रान्ड्युर मरिन इन्टरनेसनल कम्पनीले नर्वेजियन प्रविधिमा पानीजहाज निर्माण गरिरहेको छ । क्रुज सिप सञ्चालनपश्चात् नेपालको जल यातायातको सम्भाव्यतामा प्राविधिक आधार तयार हुनेछ । एक पटकमा २ सय जनालाई सेवा दिने गरी निर्माण भइरहेको क्रुज १ सय फिट लम्बाई र २५ फिट चौंडाईंको हुनेछ ।

तीन सिफ्टमा क्रुज सञ्चालनको तयारी गरेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले ब्रेकफाष्ट खाँदै नदीमा सयर गर्न चाहनेहरुले ब्रेकफाष्ट क्रुजको मज्जा दिनेछ । अपराह्न खाना नै क्रुजमा खाँदै रमाउन चाहनेका लागि लञ्च नै क्रुजमा हुनेछ र साँझमा डिनर क्रुज गराउने तयारी छ । प्रत्येक क्रुजिङ करिब ३ घण्टाको हुनेछ । पवित्र तीर्थस्थल देवघाटदेखि चितवनको सीमा गोलाघाटसम्मको यात्रा पूरा गर्न उक्त समय व्यतित हुनेछ ।

रिभर क्रुजले नारायणी किनारलाई सधंै चलायमान गराउने निर्माण कम्पनीको दाबी छ । क्रुज र सेवाग्राहीको सुरक्षा, वातावरणीय संरक्षणमा ध्यान दिँदै विशेष सावधानीसाथ क्रुज निर्माण र पूर्वतयारी गरिरहेको कम्पनीका प्रवन्ध निर्देशक कँडेलले बताउनुभयो ।

क्रुज सिप सञ्चालनका लागि आवश्यक क्र्यु मेम्बर र प्राविधिक हाललाई विदेशी हुनेछन् । दीर्घकालिनरुपमा नेपाली जनशक्ति उत्पादनका लागि तालिम केन्द्र सञ्चालन गर्ने योजनामा कम्पनी छ ।

क्रुज जलप्रवाहको मापन, प्रकोपका चुनौती अध्ययन र वातावरणीय प्रभाव मूल्यांकनपश्चात् नर्वेजियन प्रविधि प्रयोगबाट भारतीय प्राविधिकको सहयोगमा नदी किनारमा निर्माण भइरहेको छ । निर्माणको जिम्मा लिएको भारतीय कम्पनी ग्रान्ड्डुअरले लामो समयदेखि भारत, मलेसिया, श्रीलंका, दुबई, सिंगापुरलगायत देशमा सफलतापूर्वक काम गरिसकेको छ ।

चितवन घुम्न जाने पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज अवलोकनपछि नारायणीमा पानी जहाजको पनि मज्जा लिनसकुन् भन्ने उद्धेश्य रहेको कँडेलले बताउनुभयो । नारायणी नदीमा जलपर्यटन उद्योग विकास गर्ने हिसाबले पानीजहाज सञ्चालन गर्न लागिएको हो । पानी जहाजले ज्ञानेश्वर सामुदायिक बनदेखि देवघाट–गोेलाघाटसम्म सञ्चालन गर्ने अनुमति पाइसकेको छ ।

पानीजहाज चढ्न र झर्ने पोर्ट भने चितवनको ज्ञानेश्वर सामुदायिक बनको काभ्रेघाटमा बनाइएको छ । हिउँदमा काभ्रेघाटदेखि देवघाटसम्म चलाउने तयारीमा रहेको क्रुज सिप वर्षायाममा भने काभ्रेघाटदेखि गोलाघाटसम्म सञ्चालन गर्न सकिने कम्पनीले जनाएको छ ।
पर्यटन वर्ष सन् २०२० लाई लक्षित गरी निर्माणाणधीन पानीजहाज सञ्चालनमा आएपछि यसले पर्यटनमा सघाउ पु¥याउने योजनाकारको अपेक्षा छ ।