उद्घाटन खेलमा चितवन राइनोजको जित

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।चितवन राइनोज बोमन्सले बुधबारदेखि शुरू भएको महिला च्याम्पियन्स लिग टी–२० क्रिकेट प्रतियोगितामा जित हात पारेको छ।त्रिवि मैदानमा भएको उद्घाटन खेलमा चितवनले क्याट क्वीन्स काठमाण्डुलाई ५ विकेटले पराजित गरेको हो।

टस हारेर ब्याटिङ गरेको क्याट क्वीन्सले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ९२ रन जोडेको थियो। टोलीका लागि ओपनर रश्मी चौलागाईंले सर्वाधिक ३४ रन बनाइन्। कप्तान रुवीना क्षेत्री बेलबासे पनि १ रनमा रनआउट हुँदा टोली दवावमा पुगेको थियो।

पुछारमा सरस्वती कुमारीले १५ रन जोडिन भने अन्यले दोहोरो अंक जोड्न सकेनन्। बलिङमा चितवनकी सन्तोषी चौधरीले सर्वाधिक ३ विकेट लिइन्। प्लेयर अफ द म्याच भएकी उनले पुछारका तीन विकेट हासिल गर्न ४ ओभरमा १४ रन खर्चिन्।

उनले ५ हजार नगद पुरस्कार प्राप्त गरिन्। यस्तै रेखा रावल र कविता गौतमले २÷२ विकेट लिँदा रितु कनौजियाले १ विकेट हासिल गरेकी थिइन्। जवाफमा चितवनले ५ विकेट गुमाएर ९ बल बाँकी राखी ९३ रनको लक्ष्य प्राप्त गरेको थियो।

टोलीको जितमा सुमन खतिवडा र प्यारी चौधरीले शानदार ब्याटिङ गरे। ४६ रनमा रितु रिटायर्ड हर्ट भएपछि क्रिजमा आएकी प्यारीले सुमनलाई साथ दिएकी थिइन्। उनीहरूले चौथो विकेटका लागि २९ रनको साझेदारी गरेका थिए।

सुमन २३ बलमा ४ चौकाको सहयोगमा २९ रन बनाएर आउट भएकी थिइन्। रितु पुनः क्रिजमा आए पनि १४ रनमा हिट विकेट हुँदै पवेलियन फर्कनु परेको थियो। यसपछि प्यारी २४ रनमा र रेखा ३ रनमा नटआउट रहेर टोलीलाई जित दिलाएका थिए।