चौरासी पूजामा तुलादानको रकम विद्यालयलाई



अनिल खत्री, गुल्मी।गुल्मीमा चौरासी पूजाको तुलादानमा खर्चिने रकम विद्यालयलाई हस्तान्तरण गरिएको छ। जिल्लाको छत्रकोट गाउँपालिका–५ चित्रेडाँडा निवासी मित्रलाल पन्थीले चौरासी पूजाको तुलादानको रकम विद्यालयलाई अक्षय कोष स्थापना गर्न हस्तान्तरण गर्नुभएको हो।

चौरासी पूजाको अबसरमा आयोजित कार्यक्रममा वृद्धा पन्थीले सोही स्थानमा रहेको सरस्वती प्राविलाई आफ्नी श्रीमती हिमकला पन्थीको नाममा रु २० हजार १ सय हस्तान्तरण गर्नुभएको हो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थम्मन घिमिरे र विद्यालयका प्रधानाध्यापक थम्मनबहादुर केसीलाई पूजा कार्यक्रममै पन्थीले नगद हस्तान्तरण गर्नुभएको हो। विद्यालयमा पढ्ने अति विपन्न एवं जेहेन्दार विद्यार्थीलाई अध्ययन अध्यापनमा खर्चिने गरी विद्यालयलाई रकम हस्तान्तरण गरेको पन्थीले बताउनुभयो।

अक्षयकोष रकमपछि थप्दै लगिने दाता परिवारका मेघराज पन्थीले बताउनुभयो। अक्षयकोष रकम बुझ्दै विद्यालयका प्रधानाध्यापक केसीले चौरासी पूजाको अवसरमा तुलादानबापतको रकम विद्यालयलाई दिएर पन्थी परिवारले उदाहरणीय काम गरेको बताउनुभयो।

उहाँले बैंकमा उक्त रकम राखेर प्रत्येक वर्ष एकजना गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने प्रधानाध्यापक केसीको भनाइ छ। उहाँले गरिब तथा जेहेन्दार विद्यार्थीको शिक्षादीक्षाका लागि विद्यालयप्रति पन्थी परिवारले देखाएको योगदानको प्रशंसा गर्नुभयो।

 

प्रतिक्रिया दिनुहोस्