बेलायतमा जित्यो नेपाली सेनाले स्वर्ण पदक

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं। बेलायतको वेल्सस्थित ब्रेकन इलाकामा सञ्चालन भएको एक्सरसाइज क्याब्रियन पट्रोलमा सहभागी नेपाली सेनाको टोलीले स्वर्ण पदक प्राप्त गरेको छ।
उक्त अभ्यासमा सहभागी हुन नेपालबाट प्रमुख सेनानी असिम देव गुरुङको नेतृत्वमा १० जनाको सैनिक टोली उक्त पट्रोलमा सहभागी भएको थियो।

युद्धकालीन विशेष परिस्थितिको कल्पना गरी शत्रुपक्षको गतिविधिसमेत समेटेर सञ्चालन गरिने विश्वस्तरीय सैन्य अभ्यासमा सहभागी हुने टोलीको शारीरिक सहिष्णुता र पेसागत दक्षताको मूल्यांकन गर्ने गरिन्छ।

अत्यन्त कठिन भौगोलिक इलाकामा सञ्चालन हुने उक्त अभ्यासमा सहभागीले २ दिनभित्रमा हतियार तथा करिब ५० पौण्ड तौल बराबरको उपकरण एवं बन्दोबस्ती सामग्रीसहित ५० किलोमिटर दूरी पार गर्ने क्रममा सहभागी टोलीको लडाइँको तयारी, नक्सा र कम्पासको भरमा उनीहरूले दिन र रातमा गर्ने निर्धारित स्थानसम्मको यात्रा, खोला तथा अन्य अवरोध पार गर्ने क्षमता, खबर संकलन, घाइते–बिरामीको व्यवस्थापन, विस्फोटक पदार्थहरू पत्ता लगाउने क्षमतालगायत रसायनिक, जैविक र आणविक हतियार प्रहार भएको अवस्थामा अपनाउने सतर्कतासमेतका अनेकन दक्षताको परीक्षण गरिन्छ।

संयुक्त अधिराज्यको ब्रेकनमा सम्पन्न उक्त अभ्यासमा बेलायती फौजका १ सय ६ टोली र नेपालसमेत अन्य ३४ देशका गरी १ सय ४० सैन्य टोलीको सहभागिता रहेको थियो।
उक्त अभ्यासमा नेपाली सेनाको प्रतिनिधित्व विशेष फौज वाहिनी, पशुपतिप्रसाद गण र गौरी बक्स गुल्मका टोलीले गरेको थियो।

मित्रराष्ट्र संयुक्त अधिराज्यमा सञ्चालन हुने सैनिक प्रतियोगितामा नेपाली सेनाको पेसागत प्रतियोगिताको मर्यादाक्रमको आधारमा गण तथा गुल्मका फौज र वाहिनीबाट छानिएका व्यक्तिहरू सम्मिलित टिम सहभागी हुने गरेको छ।

सन् १९६० बाट वार्षिकरूपमा बेलायतमा सञ्चालन हुँदै आएको उक्त अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ बाट सहभागिता जनाउँदै आएको छ। यसअघि सन् २०१७ मा पनि नेपाली सेनाले उक्त प्रतियोगितामा स्वर्ण पदक जितेको थियो।