नेकपाको चियापानः १८ हजार सहभागि, राजपाद्धारा कार्यक्रम बहिस्कार


न्युज अफ नेपाल, काठमाडौं ।
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीले दसैं, तिहार, छठ पर्व र नेपाल संवतको अवसरमा नेकपाले बुधबार भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा करिब १८ हजारजना सहभागी भएका छन् । चियापानका लागि एक लाखलाई निम्तो बाँडिएको नेकपाले बताए पनि करिब २० प्रतिशतमात्र सहभागी भएका हुन् ।

चियापान कार्यक्रमको क्याटरिङ व्यवस्थापक अर्पण क्याटरिङका अनुसार साँझ ५ बजेसम्ममा झन्डै १८ हजारले नेकपाको चिया–खाजा खाएका छन् ।
तर, राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले भने बहिष्कार गरेको छ । संविधान संशोधनको विषयमा सरकारसँग रुष्ट रहँदै आएको राजपाले आफ्नो पार्टीका सांसद प्रमोदकुमार साहलाई पक्राउ गरेको विरोधमा चियापान बहिष्कार गरेको हो ।
कार्यक्रममा समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराई पनि गएनन् । पार्टीका अर्का अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादव उपस्थित भए पनि केही नबोली केहीबेरमै निस्किएका थिए । राजपा र समाजवादी पार्टीका नेताहरु नेपाली कांग्रेसको चियापानमा भने सहभागी भएका थिए ।

नेपाली कांग्रेसका नेताहरू भने चियापानमा पुगेका थिए । यसअघि कांग्रेसको चियापानमा पनि नेकपाका दुवै अध्यक्ष तथा अन्य नेताहरू सहभागी भएका थिए ।