दोश्रो पाँचखाल महोत्सव शुरुः ‘अन्र्तराष्ट्रिय कनेक्टिभिटीमा पाँचखाल’


मोतीराम तिमल्सिना, काभ्रे ।

पाँचखाल युनाइटेड फुटबल एशोसिएसन पाँचखालको आयोजनामा दोश्रो पाँचखाल महोत्सव आयोजना गरिएको छ ।

महोत्सवको उद्घाटन संचार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बास्कोटाले गर्नु भएको छ । महोत्सवको उद्घाटन गर्दै मन्त्री बास्कोटाले पाँचखाल कृषि र औधोगिक क्षेत्रका रुपमा अगाडी बढेको बताउनु भयो । मन्त्री बास्कोटाले भन्नुभयो– ‘अन्र्तराष्ट्रिय कनेक्टिभिटीका रुपले पनि पाँचखाल महत्वपूर्ण नाका रहेको छ । पाँचखालमा यस्ता मेलाहरुको सम्भावना भोलीका दिनमा अझै बढ्नेछ । जुन शुरुवात भएको छ त्यो राम्रो कार्य हो ।

बाटो हिडिसकेपछि जसलाई पनि हिडन् आउँछ । यो बाटो खन्ने कार्य गरेकोमा धन्यवाद दिन चाहन्छु । भविश्यका लागि यो राम्रो कार्यको शुरुवात हो । पाँचखालमा विशाल सम्भावना छ । विशाल सम्भावनालाई हामी क्रमशः अगाडी बढाईरहेका छौं । बढाउने छौं । आउने केहि वर्षमा साँच्चै परिवर्तन देखिनेछ । यो परिवर्तनलाई थेग्ने ठुलो स्थान पाँचखाल हुनेछ । मेला महोत्सव गर्ने, प्रचार प्रसार गर्ने कामले झनै त्यसलाई महत्व दिन्छ । पुर्खाहरुले पहिला पनि यस्ता कार्यक्रमहरु तराईमा हाट बजारका नाममा गर्थे भने पहाडमा विभिन्न खालका जात्राहरु हुँदा यस्ता कार्यक्रमहरु हुन्थे । संस्कृतिका रुपमा यस्ता महोत्सवसलाई अगाडी बढाउनु पर्छ ।’

मन्त्री बास्कोटाको पहलमा पाँचखाल क्षेत्रमा १८ वटा आयोजना संचालन भईरहेका छन् । वडा अध्यक्ष हरि खतिवडाका अनुसार मन्त्री बास्कोटाको पहलमा पाँचखालको विशेष आर्थिक क्षेत्रको निर्माण कार्य अगाडि बडेको छ । उक्त क्षेत्रका लागि १६ करोड लगानीमा भबन निर्माण कार्य भईरहेको छ । पाँच्खालमा दुई अर्ब लगानीमा पाँचखाल उपत्यका बृहत खानेपानी सुरुवात भएको छ ।

पाँचखाल ७ मा महिला हरित केन्द्र निर्माण गर्ने सरकारको तयारी रहेको मन्त्री बास्कोटाले बताउनु भयो । सोहि कार्यक्रमका लागि सरकारले पहिलो चरणमा ३ करोड रकम बिनियोजन भएको छ । त्यस्तै पाँचखाल ७ मा युवा सिर्जनात्मक केन्द्र खोल्ले युवा परिषदको तयारीका लागि जग्गा प्राप्ती प्रक्रिया शुरु भएको छ । पाँचखालको विकासका लागि पाँचखाल उपत्यकाको सिंचाइको निर्माण कार्य अगाडि बढाउन प्रदेश सरकारद्वारा १० करोड बिनियोजन गरिएको छ ।

पाँचखाल उपत्यकाका बनेपा–रबिवोपी–पाँचखाल सडकको लागि ६ करोड बिनियोजन भई सडक निर्माण कार्य शुरु भएको छ । पाँचखाल जोड्ने सडकहरुका लागि विभिन्न क्षेत्रमा बजेट विनियोजन भएको छ भने विद्यालय लगायतका संरचना निर्माणमा रकम विनियोजन भएको छ । असोज २९ गते देखि शुरु भएको महोत्सव कार्तिक ९ गते शनिबारसम्म चल्नेछ ।

महोत्सवमा पाँचखाल नगरको संस्कृति झल्कने, कृषि उपजलाई बढावा गर्दै कृषि उत्पादन तथा नगरका पर्यटकिय स्थलहरुका प्रवद्र्धन गर्ने उदेश्यले महोत्सव आयोजना गरिएको अध्यक्ष मिलन श्रेष्ठले बताउनु भयो । महोत्सवको पुर्व सन्ध्यामा स्थानीय संस्कृति झल्कने ऐतिहासिक लाखे नाच, धिमे बाजा, हिले नाच, विभिन्न संघ संस्थाको ब्यानर सहितको झाँकी प्रदर्शन गरिएको थियो । पाँचखाल बजार परिक्रमा गरी महोत्सव स्थल पुगेको उक्त ¥याली पछिको सभामा प्रदेश सभा सदस्य लक्ष्मण लम्साल, नगरपालिका प्रमुख महेश खरेल, उपप्रमुख लक्ष्मी दनुवार, विभिन्न क्षेत्रका ब्यक्तिहरुले सम्बोधन गर्नु भएको थियो । महोत्सवमा एक सय भन्दा धेरै स्टल राखिएका छन् ।

पाँचखाल युनाइटेड फुटबल एशोसिएसनले देशब्यापी खुल्ला आमन्त्रण फुटबल प्रतियोगिता २०६९, प्रथम नगरकप २०७१, पुफा बृहत्त सांस्कृतिक कार्यक्रम २०७१, पाँचखाल बृहत्त सांस्कृतिक कार्यक्रम २०७६, प्रथम पाँचखाल महोत्सव २०७१ आयोजना गरिसकेको सचिव जीवन नेपालले जानकारी दिनुभयो ।

दोश्रो पाँचखाल महोत्सवका संयोजक समेत रहनु भएका नेपालले खेलकुद विकासमा युुवा अभियान, कृषि, संस्कृति र पर्यटन प्रवद्र्धन पाँचखाल महोत्सवको पहिचान भन्ने मुल नाराका साथ पाँचखाल नगरपालिकाको सहकार्य एवं पाँचखाल उद्योग बाणिज्य संघका सल्लाहमा महोत्सव आयोजना गरेको बताउनु भयो ।