सांसद रिहाइको माग गर्दै बुद्ध एयरको कार्यालय अगाडि प्रदर्शन


कृष्णउदास खनाल, वीरगन्ज ।

राष्ट्रिय जनता दल (राजपा) का तर्फबाट सर्लाही निर्वाचन क्षेत्र १ बाट निर्वाचित प्रमोदकुमार साहको रिहाइको माग गर्दै राष्ट्रिय जनता पार्टी नेपाल पर्साले वीरगन्जको आदर्शनगरमा रहेको बुद्ध एयरको कार्यालय अगाडि टायर बालेर बिरोध प्रदर्शन गरेको छ ।

राजपा नेपाल बीरगन्ज महानगर कार्य समिति, युवा महानगर कार्य समिति, युवा दस्ता कार्य समिति एवम् राष्ट्रिय विधार्थी संघको नेतृत्वमा रहेका नेता तथा कार्यकर्ताहरूले वीरगन्जको आदर्शनगरमा रहेको बुद्ध एयरको कार्यालय अगाडि टायर बालेर बिरोध प्रदर्शन र तालाबन्दी गरेको राजपा नेपाल महासचिव शिव पटेलले जानकारी दिनुभयो ।

यद्यपी प्रहरीले बुद्ध एयरको कार्यालयमा लगाएको ताला खोलेको छ ।
मंगलबार प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहलाई जनकपुर बिमानस्थलमा रहेको बुद्ध एयरको काउन्टरमा तोडफोड गरेपछि प्रहरीले पक्राउ गरेको थियो । उनको पक्राउको विरोधमा मङ्गलवारदेखि नै राजपा नेपाल चरणबद्ध आन्दोलनमा उत्रेका छन् ।

यसरी नै प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरमा समेत सांसद साहको रिहाइको माग गर्दै प्रदर्शन गरिएको छ ।