नेपाली क्रिकेट फुकुवासँगै पारसको राजीनामा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।लामो समयको पर्खाइपछि नेपाल क्रिकेट संघ (क्यान) फुकुवा भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले क्यानमाथि लागेको प्रतिबन्ध सोमबार ससर्त फुकुवा गरेको हो। तर, साढे तीन वर्षपछि नेपाली क्रिकेटमा छाएको खुसीको एक दिनपछि नै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले पदबाट राजीनामा दिएका छन्।

मंगलबार सामाजिक सञ्जालमा खड्काले कप्तान पद छाडेको पोस्ट गरेका हुन्। उनले सामाजिक सञ्जालमा यस्तो उल्लेख गरेका थिए– ‘नेपाली क्रिकेट निलम्बनबाट फुकुवा भएको कुराले म निकै खुसी भएको छु। नयाँ कमिटीले नेपाली क्रिकेट खेलाडीका लागि राम्रो काम गर्छ भन्ने विश्वास लिएको छु।

मैले नेपाली क्रिकेट टोलीका कप्तान पदबाट पहिल्यै छाड्ने निर्णय गरेको हुँ। खड्काले कप्तानी छोडेपछिको पत्रकार सम्मेलनमा बताए–मैले कप्तानी छोडेको हुँ तर क्रिकेट छाडेको होइन।कप्तानी छाड्ने यो सहि समय हो।तर म नयाँ कप्तानीको नेतृत्वमा पनि खेल्नेछु। म सहयोग गर्न तयार छु।

यसमा क्यानका नवनिर्वाचित सचिव अशोकनाथ प्याकुरेलले पारस खड्काबाट कुनै जानकारी वा पत्र नपाएको जानकारी गराउनुभयो। उहाँले नेपाल समाचारपत्रलाई भन्नुभयो– ‘हामीले औपचारिकरूपमा पारसबाट केही खबर पाएको छैनौं। सञ्चारमाध्यमबाट मात्रै थाहा भएका हौं।’

पारस खड्काले नेपाली क्रिकेटलाई निकै उचाइमा पुर्याएका छन्। विनोद दासको स्थानमा सन् २००९ मा नेपाली क्रिकेट टोली सम्हालेका खड्काले नेपाललाई टी–२० विश्वकपसम्म पुर्याएका थिए। नेपालले सन् २०१४ मा भएको टी–२० विश्वकपमा खेलेको थियो।

उनकै कप्तानीमा नेपाली क्रिकेटले एकदिवसीय अन्तर्राष्ट्रिय (वानडे) मान्यता गत वर्ष मार्चमा पाएको थियो। यो नेपाली क्रिकेटले पाएको ऐतिहासिक उपलब्धि हो।यसै गरी खड्काले व्यक्तिगतरूपमा पनि करियरमा ठूलो उपलब्धि हासिल गरेका छन्। उनले हालै पनि सिंगापुरमा भएको त्रिकोणात्मक टी–२० सिरिजमा शतक प्रहार गरेका थिए।

उनले सिंगापुरविरुद्ध ४९ बलमै शतक पूरा गरेका थिए। उनले ५२ बलमा ९ छक्का र ७ चौका प्रहार गर्दै १ सय ६ रनको सानदार इनिङ खेलेका थिए। उनी वानडे र टी–२० क्रिकेटमा शतक प्रहार गर्ने नेपालका पहिलो ब्याट्सम्यानसमेत हुन्।

अबको कप्तान

पारस खड्काले करिब ११ वर्ष नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान भएर नेपाली क्रिकेटको उचाइ बढाएका छन्। खड्काले कप्तानी छाडेपछि नेपाली टोलीको नेतृत्व कसले गर्ने भन्ने प्रश्न उठेको छ।

कप्तानी सम्हाल्न अहिले राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल सबैभन्दा अगाडि छन्। पारसको नजरमा पनि मल्ल नै उपयुक्त कप्तान हुन्। उनले मल्ललाई आफ्नोे उत्तराधिकारी बन्न सक्ने बताएका हुन्।

मल्लले हालै सिंगापुर र ओमानमा भएका टी–२० सिरिजमा सहभागिता जनाएका थिएनन्। ओपनर ब्याट्सम्यान उनले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मा ६ खेलबाट १ सय ४३ रन बनाएका छन्। त्यस्तै टी–२० अन्तर्राष्ट्रियमा उनले २१ खेलमा ३ सय ३४ रन बनाएका छन्।