रोनाल्डो ७ सय गोलको कोसेढुंगामा

0
Shares

लन्डन, (एजेन्सी)पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले युरो–२०२० छनोट चरणमा युक्रेनविरुद्ध आफ्नो करियरको ७ सयौं गोल गरेका छन्। सोमबार राति भएको खेलमा ३४ वर्षीय स्ट्राइकर पेनाल्टीमार्फत उक्त ७ सय गोलको कोसेढुंगामा पुगेका हुन्। सो गोलको बाबजुद रोनाल्डोले डिफेन्डिङ च्याम्पियन पोर्चुगललाई जित दिलाउन भने सकेनन्। पोर्चुगल २–१ ले हारेको थियो।

रोनाल्डोले ९ सय ७३ खेलबाट ७ सयौं गोल गरेका छन्। उनको यो पोर्चुगलका लागि ९५औं गोल थियो। उनी इरानका खेलाडी अली डाईभन्दा मात्रै पछि छन्। अलीले आफ्नो राष्ट्रका लागि १ सय ९ अन्तर्राष्ट्रिय गोल गरेका छन्।

रियलका लागि बढी गोल

रोनाल्डोले सबैभन्दा बढी रियल मेड्रिडका लागि गरेका थिए। उनले स्पेनी महारथी टोलीका लागि ४ सय ५० गोल गरेका थिए। रियल मेड्रिड आउन अघि म्यानचेस्टर युनाइटेडका लागि उनले १ सय १८ गोल गरेका थिए। हाल युभेन्टसका लागि उनले ३२ गोल गरेका छन् भने स्पोर्टिङका लागि ५ गोल गरेका थिए। उनले पोर्चुगलका लागि ९५ गोल गरेका छन्।