महरालाई तीन दिन हिरासतमा राख्न अदालतले दियो अनुमति


न्युज अफ नेपाल, काठमाडौं ।
काठमाडौं । महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश दीपककुमार दाहालको इजलासले महराविरुद्ध अनुसन्धानका लागि १३ दिन म्याद दिएको हो ।महरा दस दिन हिरासतमा बसिसकेका छन्।

महरा बिरामी भएकोले उनको बयान लिन नसकिएको र बयान लगायतका अनुसन्धानका लागि अझै तीन दिन हिरासतमा राख्नुपर्ने सरकारी वकिल उमाकान्त पौडेलले बहसका क्रममा भनेका थिए।

वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ र अधिवक्ता मुरारी सापकोटा लगायतले महरालाई रिहा गर्नुपर्ने माग गर्दै बहस गरेका थिए।

दसैं बिदा परेकोले आज मात्र उनलाई अदालत उपस्थित गराइएको हो।

यो तीन दिनमा पनि बयान नसकिए फेरि म्याद थपका लागि महरालाई अदालतमा उपस्थित गराइने छ।

यता प्रहरीले महराविरूद्ध बलात्कार गर्न खोजेको आरोप लगाएकी कर्मचारीको कोठाबाट बरामद भएका महराका चस्मा, जुत्ताको तलुवा लगायतका सामग्री परीक्षणका लागि फरेन्सिक ल्याबमा पठाएको छ। ल्याबको रिपोर्ट भने आउन बाँकी छ।

महरा १९ असोजमा बालुवाटारस्थित सरकारी निवासबाटै पक्राउ परेका थिए । तर, अदालत बन्द भएकाले म्याद थप हुन सकेको थिएन ।