अवकाश लिँदालिँदै डा. केसीको अल्टिमेटम

0
Shares

काठमाडौं, (नेस)।चिकित्साशास्त्र अध्ययन संस्थानका प्राडा गोविन्द केसीले उमेर हदका कारण सोमबारबाट अनिवार्य अवकाश लिनुभएको छ।उहाँले अनिवार्य अवकाश लिए पनि विगतदेखि आफूले उठाउँदै आएको मुद्दा नछाड्ने बताउनुभएको छ।

प्राडा केसीले सरकारले कात्तिक ८ गतेभित्र आफूले राखेका विभिन्न ६ बुँदे माग पूरा नगरे कात्तिक १३ गतेबाट सत्याग्रहसहितको आन्दोलन शुरू गर्ने घोषणासमेत गर्नुभएको छ।चिकित्सा शिक्षा सुधारका लागि १६औं पटक आमरण अनशन बसिसक्नुभएका उहाँले भन्नुभयो– ‘विगतमा भएका सम्झौता कार्यान्वयनका लागि सरकारसँग बारम्बार औपचारिक र अनौपचारिकरूपमा ध्यानाकर्षण गराइसकेको छु, तर सरकारले सम्झौता कार्यान्वयन गर्नुको सट्टा कुटिलता र जालझेलपूर्वक विषयान्तर गर्दै आएकाले १७औं सत्याग्रह शुरू गर्न बाध्य पार्न खोजिएको छ।’

प्राडा केसीले विगतमा भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरिनुपर्ने, विश्वविद्यालयहरूमा पदाधिकारी नियुक्ति हालको प्रक्रिया रोकी पराशर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझावअनुरूप निष्पक्ष र पारदर्शी ढंगले पदाधिकारी नियुक्त गर्ने कानुनी व्यवस्था स्थापित गर्नुपर्ने लगायतका माग अघि सार्नुभएको छ।

उहाँले कानुनीरूपमै अन्यायमा परेका आन्दोलनरत मेडिकल क्षेत्रमा विद्यार्थीका माग पूरा गर्दै नेपालका सबै निजी मेडिकल कलेजको अवैध रूपमा असुल गरेको सम्पूर्ण रुकम फिर्ता गर्नुपर्ने र अर्बाैंको ठगी तथा आर्थिक अपराधका दोषी सञ्चालकलाई फौजदारी कानुनबमोजिम कडाभन्दा कडा कारबाही गर्नुपर्नेमा जोड दिनुभएको छ।