नेकपाको एकीकरण अझै पुगेन धार्नी

कात्तिकभित्र एकताको टुंगो लाग्ने खनालको दाबी

0
Shares

नेपाल समाचारपत्र, काठमाडौंनेपाल कम्युनिस्ट पार्टीभित्र बाँकी रहेको एकताको काम अझै एक महिना लम्बिने भएको छ।पार्टी एकता भएको डेढ वर्ष पुग्दासमेत शीर्ष तहको असमझदारीका कारण टुंगो लाग्न सकेको छैन। पार्टी एकता घोषणा हुँदा तीन महिनाभित्र तल्लो कमिटीसम्म एकताको सम्पूर्ण काम सम्पन्न गर्ने घोषणा गरेको १८ महिना पुग्दासमेत आन्तरिक किचलोका कारण पूर्णता पाउन सकेको छैन।

प्रदेश कमिटीले स्थानीय कमिटीको एकता टुंगो लगाउन जिल्ला कमिटीलाई निर्देशन दिए पनि केन्द्रमा रहेको गुटको प्रभावका कारण प्रभावित हुँदै आएको छ।

सचिवालय, स्थायी समिति, केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी र विभिन्न जनवर्गीय संगठनको एकताको काम सम्पन्न भए पनि अधिकांश स्थानीय तहका कमिटीले पूर्णता पाउनसकेको छैन। प्रदेश कमिटीले स्थानीय कमिटीको एकता टुंगो लगाउन जिल्ला कमिटीलाई निर्देशन दिए पनि केन्द्रमा रहेको गुटको प्रभावका कारण प्रभावित हुँदै आएको छ।

जेष्ठ कम्युनिस्ट मञ्च, अनुशासन आयोग, लेखा आयोग, राष्ट्रिय परिषद् सदस्य गठन अझै हुनसकेको छैन। पार्टी विधानअनुसार पोलिटब्युरो गठनको पनि भएको छैन।पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच एकता प्रक्रिया टुंगो लगाउन पद बाँडफाँट भइसकेको छ।

तर वरिष्ठ नेता माधवकुमार नेपाल केही विषयमा असन्तुष्टि राख्दै आउनुभएको छ। पहिलो वरिष्ठ नेताबाट दोस्रो वरीयताको वरिष्ठ नेता बनाइएको भन्दै सचिवालय बैठकमा पार्टी अध्यक्ष ओली र नेता नेपालबीच भनाभन भएको थियो।

उक्त विवादका कारण अध्यक्ष ओली र नेपालबीचको सम्बन्ध अझै सुधार हुन सकिरहेको छैन। नेकपाको सचिवालय बैठकले बारम्बार एकताको प्रक्रिया सम्पन्न गरेर राष्ट्रिय अभियान सञ्चालन गर्ने घोषणा गर्दै आएको छ। तर पार्टीभित्रको एकताले पूर्णता नपाउँदा घोषणा पूरा हुन सकेको छैन।

दशैंअघि नै एकताको बाँकी काम सम्पन्न गर्ने गरी प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली स्वास्थ्य उपचारका लागि भदौ ५ गते सिंगापुर जानुभएपछि अर्का अध्यक्ष प्रचण्डको नेतृत्वमा भदौ ९ गते सचिवालय बैठकले केही जिल्लाको इन्चार्ज सहइन्चार्ज, विभागका प्रमुख र उपप्रमुखको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको थियो।

अध्यक्ष ओली स्वदेश फर्किएपछि भदौ २५ गते बसेको बैठकले एकतालाई पूर्णता दिने गरी निर्णय लिनसकेको छैन। यही असोज ५ गते बसेको सचिवालय बैठक पनि कुनै निर्णयबिना नै स्थगित भएको थियो।तर चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले एकता प्रक्रिया लम्बिएको सचिवालयका एक सदस्यले दाबी गरे।

आगामी कात्तिक ७ गते प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली पुनः असंलग्न राष्ट्रहरूको १८औं शिखर सम्मेलनमा भाग लिन अजरवैजान जाने कार्यक्रम तय भएको छ।तर नेकपाका वरिष्ठ नेता झलनाथ खनालले भने आगामी कात्तिक महिनाभित्र एकताको बाँकी काम टुंगो लाग्ने नेपाल समाचारपत्रलाई बताउनुभएको छ।

पार्टी एकता समयमा नै पूरा गरेर जनताका बीचमा जान नसक्दा जनताको बीचमा पार्टी अलोकप्रिय हुने चिन्ता रहेको बताउँदै छिटोभन्दा छिटो एकताको काम सम्पन्न गरेर जनस्तरमा जाने कार्यक्रम पार्टीले तयार गर्ने खनालले बताउनुभयो।‘पार्टीको काम प्रभावकारी छैन, पार्टी लोकप्रिय छैन’, उहाँले भन्नुभयो– ‘पार्टीलाई बलियो बनाउनुपर्यो, जनतासँगको सम्बन्धलाई मजबुत बनाउनुपर्यो, नत्र मिसनहरू पूरा गर्न सकिँदैन।’

एकताको बाँकी काम पूरा गर्न सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय ओली र प्रचण्डबीच छलफल भएको थियो। उहाँहरूबीच चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण, एकता र सचिवालय बैठक बोलाउनेबारे छलफल भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बताउनुभयो।