राष्ट्रपति भण्डारी बुधबार म्यानमारको राजकीय भ्रमणमा जाने


न्युज अफ नेपाल, काठमाण्डौ ।

राष्ट्रपति विद्यादेवी भण्डारी बुधबारदेखि पाँच दिनका लागि म्यानमारको राजकीय भ्रमणमा जानुहुने भएको छ ।

म्यानमारका समकक्षी विन मिन्टको मैत्रिपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी म्यानमार जान लाग्नुभएको हो । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले नोबेल शान्ति पुरस्कार विजेतासमेत रहेकी म्यानमारकी स्टेट काउन्सिलर आङ साङ सुकीसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

उक्त भ्रमणमा राष्ट्रपति भण्डारी र समकक्षी मिन्टबिच आपसी हित र द्विपक्षीय सम्बन्धका बारेमा छलफल हुने जनाइएको छ । राष्ट्रपति भण्डारीसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगाएत परराष्ट्र सचिव, उच्च पदस्थ अधिकारी पनि भ्रमण दलमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यस्तै राष्ट्रपति भण्डारीले म्यानमारको पायन यु लायनमा रहेका नेपालीभाषी नागरिकहरुसँग भेटघाट गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।