काठमाडौ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले चिनियाँ राष्ट्रपति सी जिनिपिङको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाईमा पुगेको बताउनुभएको छ ।
‘सिल्क रोड युथ फोरम’ले सोमबार राजधानीमा आयोजना गरेको ‘चाइना–नेपाल युथ कोपरेशन कन्फरेन्स’को उद्घाट्न कार्यक्रममा उहाँले राष्ट्रपति सीको भ्रमणले नेपालीमा नयाँ आशा र उत्साह थपेको दावी गर्नुभयो । भ्रमण द्विपक्षीय सम्बन्धलाई नयाँ उचाई पुर्याउन ऐतिहासिक रुपमा सफल भएको उल्लेख गर्दै मन्त्री पोखरेलले चीनको सहयोगले नेपाललाई भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुक बनाउन ठूलो योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो,–नेपाल र चीन दुबै देश पुराना मित्र हुन । हाम्रो मित्रतामा कहिल्यै आँच आएन बरु सहयोगी सम्बन्ध रहिरह्यो । दुबै देशबीच जनस्तरमा पनि बलियो सम्बन्ध रहिआएको छ ।” नेपालले चीनको विकास र समृद्धिबाट सिक्न चाहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा चीनका लागि नेपाली राजदूत लिलामणि पौड्यालले नेपाल अहिले विश्वमै धेरै युवा जनसंख्या भएको मुलुकमध्येको एक रहेको उल्लेख गर्दै दुबै देशका युवाबीच रोजगारी सिर्जना र व्यवसायिक योजनामार्फत दुबै देशले लाभ लिन सक्ने धारणा व्यक्त गर्नुभयो । साथै उहाँले राष्ट्रपति सीको नेपाल भ्रमण उपलब्धिमूलक र ऐतिहासिक रुपमा सफल भएको बताउनुभयो ।
फोरमका उपाध्यक्ष तथा महासचिव यङ दोङपिङले नेपाल र चीनबीचको सम्बन्धमाथि प्रकाश पार्दै दुबै देशको आर्थिक विकास र समृद्धिका लागि द्विपक्षीय सहकार्यमा जोड दिनुभयो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचार तथा प्रकाशन केन्द्रीय विभागका उपप्रमुख सूर्यबहादुर थापाले ‘नेपाल–चीन सम्बन्ध, नयाँ युगमा बहुआयामिक साझेदारी’ सम्बन्धी प्रस्तुती गर्नुभएको थियो । कार्यक्रममा नेपाल र चीनका युवा विज्ञले विभिन्न विषयका १० प्रस्तुती दिनुभएको थियो ।
प्रतिक्रिया