भारतले अस्ट्रेलियालाई पछाडि पार्यो

0
Shares

नयाँदिल्ली, (एजेन्सी)।घरेलु टोली भारतले पुणेमा भएको दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्ट एक इनिङ र १ सय ३७ रनले जितेर अस्ट्रेलियालाई पछाडि पारेको छ।
योसँगै भारतले पाहुना टोली दक्षिण अफ्रिकाविरुद्ध २–० को अग्रता लिँदै ३ टेस्टको शृंखला हासिल गर्यो।
घरेलु मैदानमा लगातार ११औं टेस्ट शृंखला जितेर भारतले अस्ट्रेलियाको कीर्तिमानलाई पछाडि पारेको छ। भारतले २०१३ देखि हालसम्म गरी ११ टेस्ट शृंखला हासिल गरिसकेको छ।

यसअघि अस्ट्रेलियाले १९९४/९५ देखि २०००/०१ सिजनसम्म घरेलु मैदानमा लगातार १० टेस्ट शृंखला जितेर कीर्तिमान राखेको थियो। यस्तो कीर्तिमान दुईपटक राख्ने क्रममा अस्टे«लियाले २००४ देखि २००९ सम्म पनि लगातार १० टेस्ट शृंखला जितेको थियो।

तेस्रो स्थानमा लगातार ८ टेस्ट शृंखला जितेको वेस्ट इन्डिज रहेको छ।खेलमा भारतले पहिलो इनिङमा ५ विकेटको क्षतिमा ६ सय १ रन बनाएर इनिङ समाप्तिको घोषणा गरेको थियो। जसमा भारतीय कप्तान विराट कोहलीले नटआउट हुँदै २ सय ५४ रन बनाएका थिए।

दक्षिण अफ्रिकाले आफ्नो पहिलो इनिङमा २ सय ७५ रन मात्रै बनाउन सकेको थियो। टोलीले फ्लोअनमा परेर दोस्रो इनिङ ब्याटिङ गर्दा पनि सुधारिएको प्रदर्शन गर्न सकेन। दोस्रो इनिङमा टोली १ सय ८९ रनमै समेटिएको थियो।

पहिलो टेस्ट भारतले २ सय ३ रनले जितेको थियो। तेस्रो तथा अन्तिम टेस्ट १९ अक्टोबरदेखि राँचीमा हुनेछ।