टिष्टुङमा १२ वर्षे नाचको रौनक


न्युज अफ नेपाल, हेटौंडा । मकवानपुरस्थित थाहानगर–६ मा पर्ने टिष्टुङमा ऐतिहासिक महत्वको १२ वर्षे नाचको रौनक चलिरहेको छ । वैशाख २६ गतेबाट नचाउन शुरु गरिएको नाच हाल विभिन्न टोलमा नचाउने क्रम जारी छ ।

विभिन्न सात वटा खटमा नचाइने यो नाच तान्त्रिक विधिबाट नचाइन्छ । नाचमा गणेश, कुमारी, इन्द्रायणी, भैरव, बज्रबाराही र वेतालाई प्रस्तुत गरिन्छ । यो नाच एउटा खटमा दुई रातसम्म नचाइन्छ ।

देवताहरुसँगै राजाहरुको कथा समेटिएको अर्काे नाच पनि देखाइन्छ । यो नाच राजा समर सेनका छोरा सतलसेनको कथामा आधारित छ । यो नाचमा ९९ जना भन्दा बढी कलाकारले रातभर प्रस्तुति दिने गर्छन् । रातभर काँप्दै नाच्ने देवताहरुलाई विहानपख बलीपुजा गरेर नाच समापन गरिन्छ ।

यो नाच नचाउनका लागि धामी र कजीहरुको मुख्य भूमिका हुन्छ । यो नाच टिष्टुङको पाल्चोक, थहचोक, लीलाखेल, कुन्छाल, कुलगाउँलगायत ठाउँमा देखाइन्छ । नाच हेर्न टिष्टुङका विभिन्न ठाउँसहित काठमाडौं, हेटौडा, पालुङ, चित्लाङलगायत ठाउँबाट सर्वसाधारण त्यहाँ पुग्ने गर्दछन् ।

पालुङमा बसोबास गर्ने विभिन्न जातिहरु विभिन्न समयमा त्यहाँ गएको अनुमान गरिन्छ । विसं १४०६ मा मुगल सम्राट समुद्धिनले आक्रमण गर्दा बिस्थापित भएर पाटनका नेवारहरु त्यहाँ बसोबास गर्न थालेको भनिन्छ । यसरी हेर्दा १४ औं शताव्दीमा पालुङमा नेवारहरुको प्रवेश भएको पुष्टि हुन्छ । परम्परा र साँस्कृतिकरुपमा धनी यिनै नेवार जातिले आफ्नो जातीय पहिचान जोगाइराख्न पुस्तौं पुस्तादेखि उक्त क्षेत्रमा विशेष गरेर गाईजात्रा, हिलेजात्रा (लिखेनाच), इन्द्रायणीमाई जात्रा (रथयात्रा) का साथै बाह्रवर्षे नाच पर्व र जात्रा मनाउँदै आएका हुन् । समय सँगसँगै कतिपय जात्रामा परिमार्जन र कतिपय बिस्थापित भएर गएका छन् ।

२०३१ सालमा देखाइको बाहवर्षे नाच ३२ वर्षपछि २०६४ वैशाख ३०, ३१ र जेठ १ गते पालुङ–६ मा, असोज ८ गते पनि पालुङमै र तेस्रोपटक असोज २९, ३० र ३१ गते दामन–४ गोपाली गाउँमा, मंसिर १०, ११, र १२ गते बज्रबाराहीमा देखाइएको थियो ।

पालुङका राजकुमार प्रधानका अनुसार बाह्रवबर्षे नाच फर्पिङबाट असीको दशकमा पालुङ–६ का बासिन्दा कुलबहादुर प्रधानलगायतको सक्रियतामा भित्र्याइएको हो । उक्त नाच कहिले र कुन मितिमा शुरु भयो भन्ने स्पष्ट आधार फेला पार्न सकिएकोे छैन । सबभन्दा पहिले फर्पिङबाट चनमन र धिन्मा नामका दुई गुरु आएर नाच सिकाएको स्थानीय बुढापाका बताउँछन् ।

सँस्कृति र पहिचान लोप हुन नदिन २०४७÷४८ मा पालुङ–६ का बासिन्दाको सक्रियतामा नाचलाई निरन्तरता दिन लाग्दा समय दिन नसकिएको नाच व्यवस्थापन समिति अध्यक्ष श्यामभक्त श्रेष्ठले स्वीकार्नुभयो ।

नाचको आरम्भ नाचको विधि सिकाएदेखि नै सुरु भएको मानिन्छ । पूर्ण सिकाइको अवधि ४ देखि ६ महिनासम्म रहन्छ । सबभन्दा पहिला ढलान वा पक्की घरबाहेक अन्य पायक पर्ने स्थानमा अस्थायी छाप्रो बनाएर (नेवारी भाषमा आखाः) मा तान्त्रिक विधिबाट नाटेश्वरी तानेर बेग्लै खोपामा राखिन्छ । देवी, गणेश, कुमारी, इन्द्रायणी, बाराही र भैरवलाई एउटै खोपामा राखेर पर्दाले ढाकिन्छ ।

यसपछि बलीपुजा गरेर भोज खान सिकाउने प्रक्रिया शुरु हुन्छ । सिकाउन शुरु गरेको २० दिनदेखि एक महिनापछि सीं पूजा गरिन्छ । देवीदेवताको पुजाआजा तान्त्रिक विधिबाट गरिँदा नाच देखाइएको गाउँघर र समग्र क्षेत्रमा बाढीपहिरो, आगजनी र रोगव्याधिको महामारी नफैलिने जनविश्वास छ । यसका अलावा साँस्कृतिक परम्परा जगेर्ना हुने, आपसी मेलमिलाप र भाइचारा कायम हुने विश्वास रहिआएको पाइन्छ । तत्कालीन समयमा मनोरञ्जनको साधनको कमी भएको अबस्थामा कामको बोझ कम गर्न देखाइने नाच वर्तमान समयमा पनि उत्तिकै सान्दर्भिक छ । त्यस बेला कामको बोझ कम हुन्थ्यो भने हाल यसले आपसी मेलमिलापलाई बलियो बनाउने स्थानीय रामजी बलामीले बताउनुभयो ।

‘कला र सँस्कृति हाम्रा पुर्खाहरुको विरासत हो । यसलाई लोप हुन नदिएर भावी पुस्तामा हस्तान्तरण गर्नु वर्तमान पुस्ताको दायित्व हो । योसँग सरोकार राख्ने समुदायले जिम्मेवारी लिने र अन्यले पनि सघाउने हो भने यसको निरन्तरता स्वभाविक छ,’ बलामीले यसलाई जीवन्त राख्न नाचसँग सम्बन्धित ग्रन्थ, भेषभुषा, अन्य सरसामान देवीदेवताका विविध गरगहनाका साथै पुरातात्विक महत्वका सरसामान अबिलम्ब संकलन र सम्बद्र्धन गर्नुपर्ने औंल्याउनुभयो ।

नाचको सम्बद्र्धनका लागि प्रमुखकर्ता (गुरु) को अभाव, आर्थिक अभावका साथै आपसी सहकार्यको अभाव पनि समस्याको रुपमा देखिएको स्थानीयको गुनासो छ ।

‘पुरानो पुस्ताले नयाँ पुस्ताको परिवर्तित मनोविज्ञान मध्यनजर गर्दै आवश्यक संशोधन गर्दै लैजानुपर्छ । र, नयाँ पुस्ताले नाच्न आवश्यक प्रशिक्षण लिने तत्परता देखाउनु आवश्यक छ । होइन भने बाह्रवर्षे नाच इतिहास बन्न बेर लाग्दैन,’ बलामीको भनाइ छ ।

बाहवर्षे नाचका पात्रहरुमा पाँचौं देवी गण (गणेश, कुमारी, इन्द्रायणी, बाराही, भैरवी), गणेशको दाखनी बस्ने गण, ख्याक (कालो) भैरवको बायाँ बस्ने गण, महादेव, पार्वती, गंगा, विष्णु, लक्ष्मी, सरस्वती, कर्मध्वज राजा, रानी, मन्त्री, सखी, सिपाही, कटुवाल, वीरध्वज राजा, रानी, मन्त्री, सखी, सिपाही, कटुवाल, शिकारी गण (सर, चंख, बन, वीर), खड्गी, दोला (देउला), मालिनी, परी, बिना, सिना, घाटे, मुद्रा राक्षस, राक्षसकी श्रीमती, मृग, बाघ र कुकुर रहन्छन् । गुरु कलाकार स्थानीयले धर्मध्वज राजाको कथामा पूर्ण तान्त्रिक विधिबिधानसाथ बाहवर्षे नाच देखाउँछन् ।