कांग्रेसको चियापानमा प्रचण्डले भने: ‘हेर्दै जाऊँ राजनीतिले कसरी कोल्टे फेर्छ’


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी दिनमा पनि प्रतिपक्षी दलसँगको सहकार्य जारी रहने बताएका छन्।

आज नेपाली कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रमार्फत देशको स्वाधीनता र जनताको समृद्धिको आकांक्षा पूरा गर्नु नै अहिलेको मुख्य एजेन्डा रहेको बताए।

उनले भने, ‘तपाईंहरुबीच आउँदा सहयात्रीसँगैको भेटघाटमा आएको अनुभव हुन्छ। हेर्दै जाऊँ आउने दिनमा राजनीतिले कसरी कोल्टो फेर्दै जान्छ। मलाई विश्वास छ, हाम्रो सहकार्य जारी रहनेछ। हाम्रो एकता र शान्त्तिप्रतिको संकल्प जारी रहनेछ। सहयात्रीकै रुपमा निरन्तर अघि बढिरहनेछौं।’

चियापान कार्यक्रममा प्रचण्डको सम्बोधनको पूर्णपाठ :
चियापान र शुभकामना आदानप्रदान कार्यक्रमको शुरुवात नेपाली काँग्रेसबाटै भएको हो । अहिले यो राष्ट्रिय राजनीतिक संस्कृति जस्तै स्थापित भएको छ । सबैले शुभकामना आदान प्रदान कार्यक्रम मार्फत् हाम्रो ऐतिहासिकता, संस्कृति र राजनीतिक सहकार्यको चरित्रलाई अक्षुण्य राख्ने एउटा माध्यम बन्न गएको छ ।

शुभकामना राख्दै गर्दा मैले विभिन्न राजनीतिक दलको रुपमा भन्दा पनि नेपालको परिवर्तनको सहयात्रीहरुको बीचको शुभकामना आदानप्रदान कार्यक्रम मानेको छु । जसको शुरुवात तपाईंहरुले गर्नुभएको छ र यो पटक तपाईंहरुले अझ व्यवस्थित, अनुशासित रुपले यो कार्यक्रमको आयोजना गर्नुभएको छ । यसको निम्ति पनि म हृदयदेखि धन्यवाद भन्न चाहन्छु ।

मैले आउँदै गर्दा तपाईंहरुको मनोबल बढ्दै गरेको, संस्कृतिप्रतिको लगाव र निष्ठा अक्षुण्य रहेको महसुस गरें । यस अर्थमा पनि म तपाईंहरुलाई बधाई भन्न चाहन्छु ।

राजनीति यस्तै नै हो । मैले भन्ने गरेको छु, राजनीतिमा असम्भव भन्ने कुरा केही हुँदैन । असम्भव देखिने कुराहरु पनि राजनीतिक पार्टीको नेतृत्वको सहकार्यद्वारा सम्भव बनाउन सकिन्छ भन्ने कुराको एउटा ठूलो दृष्टान्त पछिल्लो चरणमा दिवंगत गिरिजाप्रसाद कोइराला र मैले हस्ताक्षर गरेर शुरु गरेको शान्ति प्रक्रिया, संविधानसभाको निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा र हामीहरुको बीचमा भएको सहकार्य र सहयात्राको एउटा नयाँ अभियानले प्रमाणित गरेको छ ।

एकता, सहकार्य र सहयात्रको अभियानमा दिवंगत गिरिजाप्रसाद कोइरालाले नेतृत्व गर्नुभएको थियो र संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्दै देशमा दिगो शान्ति र एउटा समृद्ध नेपालको अभियानतिर लैजाने जो प्रयास भएको थियो, हामीले यस प्रकारका शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गर्दैगर्दा त्यो महाअभियान, त्यतिबेला हामीले लिएका संकल्प र प्रतिबद्धताहरुप्रति दृढ रहने र संघीय लोकतान्त्रिक गणतन्त्रमार्फत् देशको राष्ट्रिय स्वधीनता र जनताको समृद्धिको आकांक्षाको सम्बोधन गर्ने कुरा नै मुख्य हो भन्ने म ठान्छु ।

म फेरि पनि के भन्न चाहन्छु भने नेपाली कांग्रेसको यो शुभकामना आदान प्रदान कार्यक्रममा आउँदा मलाई सहयात्रीहरुकै बीचमा आएको महसूस हुन्छ । तपाईंहरुसँग आउँदा सहयागीहरुसँगै भेटघाटमा आएको महसूस हुन्छ । हेर्दै जाऊँ आगामी दिनमा राजनीतिले कसरी कोल्टो फेर्दै जान्छ ?

मलाई विश्वास छ, तर पनि हाम्रो सहयात्रा जारी रहनेछ । हाम्रो एकता र शान्तिप्रतिको संकल्प जारी रहनेछ र सहयात्रीकै रुपमा हामी निरन्तर अघि बढिराख्नेछौं भन्ने विश्वाससहित फेरि एक चोटी बधाई र शुभकामना भन्दै विदा हुन चाहन्छु ।