अनेसासको पुरस्कार प्राडा लुइटेललाई


न्युज अफ नेपाल, काठमाडौं ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाजले नेपाली भाषा साहित्यको विकास र अन्तराष्ट्रियकरणका साथै अनेसासको बृहत्तर विकासमा विशिष्ट योगदान गरेका व्यक्तिहरूमध्ये एकजनालाई हरेक दुई वर्षमा प्रदान गर्दै आएको अनेसास राम लामा अविनाशी विशिष्ट प्रतिभा पुरस्कार यस वर्ष त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. खगेन्द्रप्रसाद लुइटेललाई प्रदान गर्ने भएको छ ।

गत सेप्टेम्बर ९ मा बसेको बोर्ड अफ ट्रस्टिज कार्यसमितिको बैठकले अक्टोबर ९ मा प्राडा खगेन्द्रप्रसाद लुइटेलको नाम सिफारिस गरेको हो ।
नेपाली भाषा साहित्यको विकासमा अनवरत लागेर आप्रवासमा नेपाली भाषा साहित्यको विस्तार, संवर्धन र संरक्षणमा विशेष योगदान गरेवापत उहालाई सो पुरस्कार दिन निर्णय गरेको अनेसासका सचिव शिव लामिछानेद्धारा जारी विप्तिमा उल्लेख गरिएको छ ।

अमेरिकाको क्यालिफोर्निया बस्दै आएका राम लामा अविनाशीले प्रायोजन गर्नुभएको सो पुरस्कारको राशी हाल २ हजार ५ सय अमेरिकी डलर रहेको छ । यसअगि सन् २०१७ मा यो पुरस्कार अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीलाई प्रदान गरिएको थियो । त्यसबेला सो पुरस्कारको राशी २ हजार अमेरिकी डलर थियो ।

आगामी नोभेम्बर १० तारिकमा अमेरिकाको वासिङ्टन डिसीमा आयोजना हुने अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार वितरण समारोहका अवसरमा प्राडा लुइटेललाई यो पुरस्कार प्रदान गरिनेछ । यो अनेसासबाट प्रदान गरिने हालसम्मको सबैभन्दा ठूलो राशीको पुरस्कार हो ।