राष्ट्रपति सी चीन प्रस्थान, विमानस्थलमा भव्य विदाइ


न्युज अफ नेपाल, काठमाडौं ।

२३ वर्षपछि नेपाल आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ दुई दिने भ्रमण सकेर आइतबार अपरान्ह स्वदेश फर्किएका छन् । उनको विमानस्थलमा भव्य विदाइ गरिएको छ ।

सोल्टी होटेलमा उच्चस्तरीय भेटवार्ता र समझदारी पत्रका हस्ताक्षर कार्यकम सकिएपछि सी सिधै २ बजे विमानस्थल पुगेका हुन्। सीलाई राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्‍त्री केपी शर्मा ओलीलगायतका विशिष्ट व्यक्तित्वहरुले विदाइ गरे ।

त्यसक्रममा नेपाली कला र संस्कृति झल्किने झाँकीहरु प्रदर्शन गरिएको छ। शनिबार अपरान्ह पौनै पाँच बजे विशेष विमानमा काठमाडौं ओर्लिएका सीले १९ घन्टा व्यस्त तालिकाबीच नै बिताए।

शनिबार अपरान्ह विमानस्थलबाट सोल्टी पुगेका सी होटलमा एकछिन आराम गरेर राष्ट्रपति भण्डारीसँगको भेटवार्ताका लागि शितलनिवास पुगेका थिए। त्यसपछि उनी सोल्टीमा फर्केका थिए। सोल्टीमा सीको सम्मानमा राष्ट्रपति भण्डारीले विशेष रात्रभोज आयोजना गरेकी थिइन्। त्यसमा दुवै देशका प्रमुखहरुले टोस्ट प्रस्ताव गर्दै सम्बोधन गरेका थिए।

ुनमस्तेु बाट सम्बोधन सुरु गरेका सीले भनेका थिए, ुनेपालको भूपरिवेष्ठित देश होइन भूजडित देश हो। सीको यो अभिव्यक्तिले नेपाल चीनबीचको बलियो सहकार्यको उज्जवल भविष्यलाई संकेत गरेको छ। राष्ट्रपति भण्डारीले नेपाली जनता केरुङ–लुम्बिनी रेलमार्ग हेर्न इच्छुक रहेको बताउँदै भनेकी थिइन्, ुहाम्रो सम्बन्ध सागर जस्तै गहिरो र सगरमाथा जस्तै उँचो छ।ु

शनिबार बेलुका नै राष्ट्रपति सीले प्रमुख प्रतिपक्षी नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए। आइतबार बिहानदेखि नै राष्ट्रपति सी उच्चस्तरीय भेटवार्तामा व्यस्त रहे ।

आइतबार बिहान नै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालय सदस्हरुसँग भेटवार्ता भएको थियो। लगतै प्रचण्डसँग सीले अलग्गै भेटवार्ता गरेका थिए।

राष्ट्रपति सी र प्रधानमन्‍त्री केपी शर्मा ओलीबीचको शिष्टाचार भेटवार्तापछि दुईपक्षीय प्रतिनिधिमण्डलबीच उच्चस्तरीय वार्ता सुरु भएको छ। दुवै देशका उच्च अधिकारी सम्मिलित उच्चस्तरीय वार्तालाई प्रधानमन्‍त्री केपी ओली र चिनियाँ राष्ट्रपतिले सम्बोधन गरेका थिए। वार्तापछि १७ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको थियो। त्यसपछि संयुक्त विज्ञप्ती जारी भएको थियो।