राष्ट्रपतिले आज नवदुर्गाको पुजा गरी प्रसाद ग्रहण गर्नुहुने


पुष्कर बुढाथोकी,भक्तपुर,(नेस)। यस बर्षको बडादसैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमाको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजाअर्चना गर्नु हुने भएको छ ।

राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति भण्डारीले अपरान्ह मन्दिरमा पुगेर नवदुर्गाको पूजा गरी दर्शन गरेर प्रसाद ग्रहण गर्नु हुने भएको हो ।

राष्ट्रपतिलाई नवदुर्गा मन्दिरका पूजारीले नवदुर्गाको पूजा एवं दर्शन गराउनुका साथै नवदुर्गाको प्रसाद फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो प्रदान गर्नुहुने छ ।

त्यसक्रममा राष्ट्रपति भण्डारीले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गर्नुहुने भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले बताउनुभयो

सो क्रममा प्रसिद्ध नवदुर्गा नाच समेत प्रदर्शन गरिने र त्यसको सम्पुर्ण तयारी पुरा भएको नवदुर्गा नाच व्यबस्थापन समितिका सचिव रत्नमान वनमालाले जानकारी दिनुभयो ।

राष्ट्रपति नवदुर्गा मन्दिर आउँदा प्रतिनिधी सभाका सांसद महेश बस्नेत, प्रदेश सभाका सदस्य,जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी,जिल्लास्थित नगरपालिकाका प्रमुख, बिभिन्न कार्यालय प्रमुख लगायतले राष्ट्रपति भण्डारीलाई स्वागत गर्नुहुने छ ।

हरेक बर्ष कोजाग्रत पूर्णिमाका दिन राष्ट्रपति नवदुर्गा मन्दिर सरिक भई नवदुर्गाको पुजा गरी प्रसाद ग्रहण गरेसँगै दशैं समापन हुने गर्दछ ।