प्रधानमन्त्री ओली सोल्टी होटलमा, उच्चस्तरीय प्रतिनिधिमण्डलको बैठक बस्दै

एक दर्जन सम्झौतामा हस्ताक्षरको तयारी


काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङसँग हुने वार्ताका लागि प्रधानमन्त्री केपी शर्मा ओली पनि सोल्टी होटलमा पुगेका छन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का सचिवालय सदस्यहरूसँग र प्रचण्डसँग पनि छुट्टै भेट गर्ने बताईएको छ ।

यस अघि नेपाली काँग्रेसमा सभापती शेर बहादुर देउबासँग राष्ट्रपति सीले भेट गरिसकेकाछन् । त्यस्तै आज बिहान राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सेनासँग पनि सीको भेटवार्ता गरेका छन्।

अहिले केही बेरमै नेपाल–चीन द्विपक्षीय उच्चस्तरीय प्रतिनिधिमण्डलको बैठक बस्दैछ। बैठकमा नेपालको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दैछन् भने चीनको नेतृत्व चिनियाँ राष्ट्रपति सी चिनफिङले गर्नेछन्।

बैठकमा नेपाल–चीन बहुआयामिक सम्बन्धका सबै पक्षहरूमा छलफल हुनेछ। विगतमा नेपाल र चीनबीच भएका सम्झौता र तीनको कार्यान्वयनका सम्बन्धमा पनि दुई मुलुकका नेताबीच छलफल हुने जनाइएको छ।

बैठकमा केही सम्झौताहरूलाई अन्तिम रूप दिई तीनमा हस्ताक्षरसमेत गरिने कार्यक्रम समेत रहेको छ। बैठकपछि प्रधानमन्त्री ओली र राष्ट्रपति सीको उपस्थितिमा करिब एक दर्जन सम्झौता तथा समझदारीपत्र९एमओयु०मा दुई मुलुकका सम्बन्धित अधिकारीले हस्ताक्षर गर्ने जनाइएको छ।