मण्डनदेउपूरका माझी समुदायले मनाए यसवर्षको पितरापर्व


ज्ञानमणि नेपाल, काभ्रे ।

नेपाल विविध जातजाती र भेषभुषाका मानिसहरुको साझा घर हो । यहाँ बसोबास गर्ने सबैका आ–आफ्नै संस्कृती र परम्परा छन् । यस मध्ये एक हो माझी जाती । जसको आफ्नै पहिचान जोगाउने संस्कृती पितरापर्व अहिले पनि प्रचलनमा छ ।

धेरै झण्जट झेल्दै भएपनि उनीहरुले यस पर्वलाई जोगाईरहेका छन् । अन्य जातीहरुमा मानिस मरेपछि वार्षिक पुण्य तिथीमा श्राद्ध गर्ने चलन छ । तर माझि जातीमा मरेका आफन्तको नाममा एकपटक पितरा निकाले पछि कहिल्यै पनि वार्षिक श्राद्ध गर्नु पर्दैन । यो जातीमा परम्परादेखि नै जीवन्त रहेको यस्तो पर्वलाई नै सामान्य बुझिने भाषामा पितरापर्व भनिने गरिएको आँपचौरका रामकृष्ण माझीले बताए । यो परम्परा कहिले देखि र किन प्रचलनमा रहेको हो भन्ने बारेमा अधिकांशहरु अनभिज्ञ रहेपनि यसलाई जोगाउनु पर्छ भन्नेमा युवाहरु देखि वृद्धहरु सबैको एकमत रहेको पाईएको छ ।

विभिन्न जात्रा र पर्वका आआफ्नै किंवदन्ती रहेको पाइन्छ । यस्तैमा पितरापर्वको पनि आफ्नै किंवदन्ती छ । जस अनुशार कुनै एक समयमा महादेव र पार्वती पृथ्वी भ्रमण गर्ने क्रममा एउटा ठूलो नदी छेऊमा आईपुगेछन् । नदी पार गर्न नसक्दा नदी किनारमा डुङ्गा चलाउँदै गरेको एक जना माझीलाई आफूहरुलाई नदी पार गराईदिन अनुरोध गरेछन् । उक्त माझिले पनि नदी पार गराईदिएछ । महादेव र पार्वतीले खुशि भएर तिमीहरु मर्दा बाँच्नेले नाचगान गरेमा सोझै स्वर्ग पुग्छौ भनि वरदान दिएर गएछन् । त्यसैबेला देखि यो संस्कृतीको शुरुवात भएको स्थानिय माझी समुदायहरुले जानकारी दिए ।

देशभर छरिएर रहेका सबै ठाउँका माझिहरुले यो पर्व मनाउँदै आईरहेका छन् । प्रत्येक वर्ष विजयादशमीको भोलीपल्ट र तिहारको भाईटीकाको भोलीपल्ट यो पर्व मनाउने गरिएको माझीहरुले बताए । यो उनीहरुको संस्कृती नै भएपनि सबैले मनाउनु पर्दैन । वर्षभरिमा जसको घरका आफन्तको निधन भएको छ, त्यहि घरबाट पितरा निकालिन्छ । यदि त्यो वर्ष गाउँमा कसैको निधन भएन भने त्यस वर्ष पितरा निकाल्नु अनिवार्य छैन ।

तिहारको भाईटिकाको भोलीपल्ट कसैको निधन भएमा उसको परिवारले आउँदो वर्षको विजयादशमीको भोलीपल्ट सम्म जुठो बार्नु पर्छ । र विजयादशमीको भोलीपल्ट देखि भाईटीकाको दिन सम्म मरेकाहरुको त्यहि वर्ष एक वर्ष भरिको काम सकिन्छ ।

यो कुरा सुन्दा उपत्यकामा नेवार समुदायले गाईजात्रा पर्व मनाए जस्तै हो कि भन्ने भान हुन्छ । केहि हद सम्म गाईजात्रा जस्तै भएपनि पितरापर्व फरक संस्कृती भएको आँपचौरका ध्रुर्व माझीले बताए । उनका अनुशार पितरा निकाल्ने अघिल्लो दिन देखि नै केहि विधी पु¥याउनु पर्छ । मरेका पितृहरुलाई निमन्त्रणा गर्नका लागि उनीहरुलाई विभिन्न बाहानहरुमा चढेर आउनु भनि घरको भित्तामा हात्ती, घोडा, सिपाही, घोरल, मोटर, हवाईजहाज लगायतका सवारी साधनहरुको चित्र कोरिन्छ । मृतआत्मा तीनै सवारीसाधनहरुमा चढेर आउँछन् भन्ने उनीहरुको विश्वास छ । महिला मरेको भए महिलाकै र पुरुष मरेको भए पुरुषले लगाउने लुगा आकृती कोरिएको ठाउँमा राखिन्छ ।

पितरा निकालेको दिन बेलुकाबाट भोलीपल्टको उज्यालो नहुँदै कसैले नदेख्ने गरि उक्त आकृती मेटाइसक्नु पर्छ । पितरा निकाल्ने दिन मुल भोटेले यसको शुरुवात गर्छ । अरुले मुलभोटेलाई विभिन्न काममा सहयोग गर्छन् । यस जातीकै २ जना बालिकाहरुलाई बाहुनको रुपमा पुजिन्छ । बाहुनको रुपमा रहेपनि त्यस दिन भरि उनीहरुलाई अरु जातीहरुले छुन हुदैन भन्ने मान्यता रहेको छ । यदि कसैले छोएमा तीनीहरुको मृत्यु सम्म हुनसक्ने माझीहरु बताउँछन् ।

त्यसपछि मुलभोटेले अरु २ जना गुरुङ्गहरुको छनोट गर्छ । उनीहरुकै साथमा अरु पनि मृतआत्मालाई बोलाउँदै नदी सम्म जान्छन् । यस क्रममा विभिन्न देशभक्ति झल्काउने र दुःखसुखका गीतहरु गाउने चलन छ । बाटो मर्मत र सफा गर्दै पुनः घरमा फर्केर मृतकको के इच्छा छ त्यो बकाउनको लागि विभिन्न तन्त्रमन्त्रबाट मृतकको परिवारको सल्लाह अनुशार आत्मालाई बोलाइन्छ । यसरी बोलाउँदा मुलभोटे काप्न थाल्यो भने उसमा मृतआत्मा आएको विश्वास गरिन्छ । उक्त आत्मालाई के चाहिएको छ, अरुले भोटेलाई सोध्छन् । भोटेले भने अनुशार कै मृतआत्मालाई दान गरेपछि पुनः घरमा आएर दःुख नदिनु भनेर पुकार गरिन्छ । त्यस दिन र रातभर विभिन्न भजन गाउँदै नाच पनि देखाइन्छ । भोलीपल्ट सबेरै नदीमा लगेर सेलाए पछि ३ दिन देखिको पितरा पर्वको समापन हुन्छ । मृतकहरुका सबै घरहरुमा एकैसाथ र एउटै तरिकाले यस्तो गर्नु पर्ने परम्परा छ ।

यस पर्वको खास उद्देश्य मरेका आफन्तहरुको आत्मा कहिल्यै फर्केर नआओस् र बाँचेकाहरुलाई कुनै किसिमको विध्नबाधाहरु नपरोस् भन्नु नै रहेको ध्रुर्व माझीले बताए । यो पर्व लाग्ने दिन अन्य जातका मानिसहरुको पनि माझीगाउँमा बाक्लै उपस्थिती रहने गरेको उनको भनाई छ । यसरी आफ्नो अस्तित्वसँग जोडिएको पितरा पर्वलाई जोगाउन जस्तो सुकै दुःख झेल्न पनि माझीहरु तयार रहने पनि उनले बताएका छन् ।

यसवर्ष ध्रुर्व माझीको घरबाट पितरा निकालिएको थियो । बुबाको निधन भएकाले पितरा निकालिएको उनले बताए । उनका घरमा हामी पुग्दा उनी पितरा निकाल्ने तयारी गर्दै थिए ।

कुनै वर्ष गाउँमा पितरा निकाल्नु परेन भने माझीहरु खुशी साथ दशैं मनाउँछन् किनकी गाउँमा कसैको नाममा पनि शोक मनाउनु परेन । ०७२ सालको भूकम्पको वर्ष मण्डनदेउपुर १० को आँपचौर गाउँमा ११ वटा घरबाट पितरा निकालिएको तितो अनुभव छ यहाँका माझीहरुसँग । किनकी यो वर्ष भूकम्पमा परि गाउँमा ११ जनाको मृत्यु भएको थियो । पितरा पर्व मनाउन २० हजार देखि ५० हजार सम्म खर्च हुन्छ । यो खर्च जसको घरबाट पितरा निकालिन्छ उसैले व्यवस्थापन गर्नु पर्ने हुन्छ ।

पितरा पर्व दशैं तिहार मनाए जस्तो वर्षेनी मनाईंदैन तर गाउँका सदस्यहरुको मृत्यु भएको वर्ष म यो पर्व मनाउँदिन भनेर सुख पाईंदैन , अनिवार्य नै भएको रामकृष्ण माझीले बताए ।