सी आउँदा मुख्य सडकमा सवारी आवामगन निषेध गरिने


काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा राजधानीका मुख्य सडकमा सवारी आवामगनमा निषेध गरिने भएको छ। ट्राफिक प्रहरीले सर्वसाधरण आफैंले बुझेर बैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ। रिङरोडभित्र ठूला मालबाहक सवारी साधनमा रोक लगाइने जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको छ।

महाशाखाका प्रवक्ता एसपी रवि पौडेलले मुख्य सवारी मार्गमा सवारी प्रवेशमा रोक लगाइने जानकारी दिए। सी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा झरे लगत्तै सोल्टीमोडस्थित सोल्टी होटलमा पुग्ने छन्। सोल्टीबाट शीतलनिवास स्थित राष्ट्रपति विद्या भण्डारीसँग द्विपक्षीय भेटघाटमा निक्लिने छन्। 


सी सुरुमा विमानस्थलबाट सीनामंगल हुँदै तीनकुने, बानेश्वर, बबरमहल, माइतिघर, थापाथली, त्रिपुरेश्वर हुँदै कालिमाटी सडक खण्ड भएर सोल्टी पुग्ने छन्। सरकारले पहिलो सवारी रुट यसरी तय गरेको छ। सोल्टीबाट सी कालिमाटी, त्रिपुरेश्वर, केशरमहल हुँदै शीतलनिवास जाने रुट तय भएको छ। त्यसको बैकल्पिकमा सोल्टीबाट कालिमाटी, त्रिपुरेश्वर, माइतिघर, पुतलसडक हुँदै शीतलनिवास जाने रुट तय भएको छ।

शनिबार अपराह्न ४ः३० देखि ५ः३० बजे सम्ममा त्रिभुवन विमानस्थलमा राष्ट्रपति सी उत्रने कार्यतालिका छ। साँझ ६ः३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा भेटघाट गर्ने कार्यक्रम छ। करिब ७ः३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीले सोल्टी होटेलमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने कार्यक्रम रहेको हुँदा सवारी हुने रुटमा यातायात पूर्ण रोकिने प्रवक्ता पौडेलले जानकारी दिए।

त्यस्तै आइतबार बिहान नेपाल–चीनबीच औपचारिक वार्ता हुने र १०ः३० बजे द्विपक्षीय सम्झौतामा हस्ताक्षर हुने प्रारम्भिक कार्यक्रम तय भएको छ। मध्याह्न १२ः३० बजे नेपालको भ्रमण पूरा गरी राष्ट्रपति सी स्वदेश फर्कने कार्यक्रम छ।