उपप्रधानमन्त्रीसरहका चार चिनियाँ नेता पनि राष्ट्रपति सीसंगै काठमाडौं आउँदै


न्युज अफ नेपाल,काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङ दुई दिने राजकीय भ्रमणका लागि शनिबार नेपाल आउंदैछन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा उनि नेपालमा भ्रमणमा आउन लागेका हुन् । सीसंगै चार जना महत्वपूर्ण नेताहरु पनि काठमाडौं अवतरण गर्दैछन् । उनिहरु सवै उपप्रधानमन्त्रीसरहकै हैसियत भएका नेताहरु हुन् ।

राष्ट्रपति सीसंगै आउने नेतामा डिङ्ग सुईसियाङ हुन् । उनि चिनियां कम्युनिष्ट पार्टीको पोलिटिकल ब्युरोको सदस्य हुन् । त्यसका साथै सुईसियाङ चिनियां कम्युनिष्ट पार्टीको केन्द्रिय कार्यालयको महानिर्देशक समेत हुन् ।

त्यस्तै अर्का नेता याङ जिची पनि भ्रमणमा दलमा सदस्य छन् । उनी चीनको पुर्व विदेशमन्त्री र स्टेट काउन्सिलर भईसकेका नेता हुन् । हाल उनी सिपीसीको महासचिव समेत रहेका चिनियां राष्ट्रपति सी मातहतको विदेश मामिला आयोगको निर्देशक छन् । त्यसका साथै उनि पार्टीको पोलिटिकल ब्युरोको सदस्य समेत हुन् ।

भ्रमण दलमा अर्का नेता हुन् विदेशमन्त्री वाङ यी । उनि चीनको स्टेट काउन्सिलर समेत हुन् । वाङ नेपालसंग परिचित नेता समेत हुन् । उनि पनि उपप्रधानमन्त्रीसरहकै चिनियां नेता हुन् । गत महिना मात्र उनले नेपालको भ्रमण गरेका थिए ।

सीको टोलीमा ही लिफेङ्ग समेत रहेका छन् । राष्ट्रिय विकास र सुधार आयोगसम्बन्धी क्षेत्र हेर्ने मन्त्री ही चिनियां राष्ट्रपति सीका अति विश्वासिला नेता हुन् ।

उनले यसअघि फुझोओ,तेन्जिन र सेयामिनमा पार्टी प्रमुख भएर काम गरेका थिए । त्यसका साथै चिनियां राष्ट्रपति सी फुजियान प्रान्तमा कार्यरत हुंदा हिले निकट सहयोगी भएर मातहतमा काम गरेका थिए ।

टोलीमा चिनियां कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ्ग ताओ समेत नेपाल आउंदैछन् । उनी चीनको बहालवाला मन्त्री समेत हुन् । गत महिना मात्र ताओ नेपाल कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेपाल भ्रमणको क्रममा काठमाडौं आएका थिए ।