बाँके–बर्दियालगायत क्षेत्रमा पेट्रोल अभाव


नेपालगन्ज । बाँके–बर्दियालगायत क्षेत्रमा केही दिन यता पेट्रोल अभाव भएको छ। यस क्षेत्रका अधिकांश पम्पले बिहीबार पेट्रोल नभएको सूचना टाँसेका थिए भने पेट्रोल हुने पम्पमा लाइन नै लागेको थियो। सामान्यतः यस क्षेत्रमा इन्धनका लागि लाइन लाग्नुपर्ने अवस्था आउँदैन।

असोज १९ देखि २२ गतेसम्म बन्द भएका पेट्रोल पम्पले बिहीबारदेखि मात्र तेल दिन सुरु गरेका थिए। आयल निगमले पनि पम्पलाई बिहीबारदेखि इन्धन उपलब्ध गराएको थियो। निगमले इन्धन ढिलो उपलब्ध गराएकाले पनि पेट्रोलको अभाव भएको व्यवसायीको भनाइ छ।

मध्यपश्चिम पेट्रोलियम डिलर एसोसिएनका निवर्तमान अध्यक्ष टीपी न्यौपाने बजार मागअनुसार पेट्रोल आपूर्ति नभएकाले बजारमा अभाव भएको बताएका छन् । आयल निगमको नेपालगन्ज डिपोले बाँके, बर्दिया, प्युठान, रोल्पा र सल्यानका लागि इन्धन आपूर्ति गर्ने गरेको छ ।