चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमण अवधिमा सर्वसाधारणलाई आवतजावतमा समस्या हुने


काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण अवधिमा सर्वसाधारणलाई आवतजावतमा समस्या हुने देखिएको छ । राष्ट्रपति सीसहितको टोली शनिबार ४ :३० बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेपछि तीनकुने, बानेश्वर, त्रिपुरेश्वर हुँदै सोल्टी होटल प्रस्थान गर्नेछ ।

सोल्टी होटलमा केहीबेर आराम गरेपछि सी सोल्टीमोड, त्रिपुरेश्वर, सुन्धारा, जमल हुँदै शीतलनिवास पुग्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यस अवधिमा सर्वसाधारणलाई आवतजावत गर्न समस्या हुनेछ । चिनियाँ राष्ट्रपति सी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शनिबारै शीतलनिवासमा भेटवार्ता हुनेछ। तालिकाअनुसार साँझ ६ः३० बजे दुई देशका राष्ट्रपतिबीच भेटवार्ता हुनेछ ।

सवारी आवागमनलाई लक्षित गर्दै सरकारले आइतबार भने सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सीको स्वागत र कार्यक्रमका लागि सबैखाले तयारी पूरा भएको जानकारी दिए । उनका अनुसार विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि ऐन, २०७० अनुसार चारवटै सुरक्षा निकायलाई परिचालन गरिएको छ ।

चिनियाँ राष्ट्रपति सी र अन्य भिआइपी सवारी हुने क्षेत्रमा शुक्रबारदेखि नै सुरक्षाकर्मी परिचालन गरिएको छ ।

 

यस्तो छ भ्रमण तालिका …..

शनिबार

दिउँसो ४ः३० बजे – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण
साँझ ६ः३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता
कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता
साँझ ७ः३० बजे राष्ट्रपति भण्डारीद्वारा चिनियाँ राष्ट्रपति सीको सम्मानमा रात्रिभोजको आयोजना

आइतबार

बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ सँग भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल र राष्ट्रपति सी नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता र समझदारी पत्रमा हस्ताक्षर

दिउँसो १२ः३० बजे स्वदेश फिर्ता ।