सिन्धुपाल्चोक बस दुर्घटनामा मृतक १२ को सनाखत


न्युज अफ नेपाल,काठमाडौँ। इन्द्रावती गाउँपालिका-९, सिपाटारबाट काठमाडौँ आउँदै गरेको यात्रु बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ। बा २ ख २७१५ नम्बरको बस इन्द्रावती-१० को तिखु मोड भन्ने स्थानमा सडकबाट करिब दुई सय मिटर तल खस्दा चालकसहित १२ जनाको मृत्यु भएको हो।

मृतक मध्ये पाँच जनाको घटनास्थलमा र अन्यको अस्पताल तथा अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

दुर्घटनामा परी बनेपा नगरपालिका-३ का चालक केदारनाथ महाजु, इन्द्रावती-९ का ४५ वर्षीय हिरा श्रेष्ठ, २५ वर्षीय विनोद लम्साल, इन्द्रावती-१० का २९ वर्षीय रितेश आचार्य, पाँचखाल नगरपालिका-६, काभ्रेकी २२ वर्षीया संगिता मिजारको घटनास्थलमै मृत्यु भएको थियो।

दुर्घटनामा परी इन्द्रावती-९ मा माइती भई ललितपुर घर भएकी ४७ वर्षीया समिता श्रेष्ठ, मेलम्ची नगरपालिका-१३ का २० वर्षीय अनुश तामाङ, इन्द्रावती-१० का २३ वर्षीया मिना मगर, ३९ वर्षीय सुवास अधिकारी, ६ वर्षीय बालक सुमित पुर्कोटी तथा इन्द्रावती-९ की ४४ वर्षीया जुनादेवी लम्साल तथा माइती आएकी बाह्रबिसे नगरपालिका-७ की अस्मिता श्रेष्ठको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।


क्षमता भन्दा बढी यात्रु बोकेको बस ओरालो सडकमा ब्रेक फेल भएका कारण दुर्घटना भएको हुनसक्ने उद्धारमा संलग्न स्थानीय राजेन्द्र आचार्यले बताए।

दुर्घटनामा ९८ जना यात्रु घाइते छन्। हेलिकोप्टर र एम्बुलेन्सबाट अस्पताल पुर्‍याइएका घाइतेमध्ये सबै भन्दा बढी संख्यामा धुलिखेल अस्पतालमा ६७ जनाको उपचार भइरहेका प्रहरीले बताएको छ । प्रहरीका अनुसार शिर मेमोरियल अस्पताल बनेपामा १६ तथा वीर अस्पतालस्थित ट्रमा सेन्टरमा १५ जनाको उपचार भइरहेको छ। त्यसैगरी काठमाडौ मेडिकल कलेजमा एक तथा नोबेल अस्पतालमा एक जनाको उपचार भइरहेको छ।

दुर्घटनापछि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधि तथा स्थानीयले मृतक र घाइतेको उद्धार गरेका थिए। उद्धारमा नेपाली सेनाको साथै जनप्रतिनिधिको पहलमा निजी कम्पनीको हेलिकोप्टर पनि उद्धारमा संलग्न गराइएको थियो।

एक मात्र सार्वजनिक बस चल्ने उक्त गाउँबाट दसैं मनाएर काममा राजधानी फर्कने तथा आफन्तकहाँ दसैंको टीका लगाएर फर्कनेका कारण बसमा अत्यधिक भार रहेको प्रत्यक्षदर्शीले बताए। अत्यधिक भार र पुरानो इन्जिन भएको बस भएकाले ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान छ।