चितुवाको आक्रमणबाट चार वर्षीय बालकको मृत्यु


न्युज अफ नेपाल, तनहुँ ।

चितुवाको आक्रमणबाट तनहुँमा मंगलबार एक बालकको मृत्यु भएको छ । भानु नगरपालिका–१ जामुनेगैह्रा बस्ने विष्णु बानियाँका छोरा चार वर्षीय आशिष बानियाँको मृत्यु भएको हो ।

घर नजिकै पिङ खेल्दै गर्दा चितुवाको आक्रमणबाट घाइते भएका उनलाई उपचारको लागी डुम्रेस्थित लक्ष्मी अस्पतालमा लगीएको थियो । उनको साँझ उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

भानु नगरपालिकामा चितुवाको त्रास रहेकाले बालबालिकालाई एक्लै नछाड्न प्रहरीले आग्रह गरेको छ ।

भानु नगरपालिकामा यसअघि पनि चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु भएको छ । चितुवाको आक्रमणबाट यसअघि दुई बालक र दुई बालिकाको मृत्यु भएको थियो ।

असोज १५ गते भानु नगरपालिका–२ मा रहेको सामुदायिक वनमा निर्माण गरिएको खोरमा एउटा चितुवा नियन्त्रणमा लिइएको थियो । पुनः चितुवाले आक्रमण गरेपछि भानु नगरपालिकामा अन्य चितुवा पनि रहेको अनुमान गरिएको छ । चितुवाले पुनः आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित भएका छन् ।