जेठानीले छुरा प्रहार गरी देवरानीको हत्या


न्युज अफ नेपाल, धनुषा ।

जेठानीले छुरा प्रहार गरी देवरानीको हत्या गरेकी छिन् । धनुषाको औरही गाउँपालिका–१ झिटकैयामा २६ वर्षीया जेठानी सुनौल खातुनले २२ वर्षीया देवरानी सहानी खातुनको छुरा प्रहार गरी हत्या गरेकी हुन् ।

सोमबार साँझ घरायसी विवादको कारण जेठानीले देवरानीको शरीरमा पाँच ठाउँमा छुरा प्रहार गरेकी थिइन् । देवरानीलाई छुरा प्रहार गरी घाइते बनाएपछि जेठानीले आफ्नै पेटमासमेत छुरा हानेकी छिन् ।

छुरा प्रहार गरि घाइते भएकी देवरानीको उपचारको क्रममा जनकपुरको काव्या हस्पिटलमा मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।आफ्नै पेटमा पनि छुरा हानी घाइते भएकी सुनौलको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

मृतक सहानीको शव पोस्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।