दशैंमा पनि अधिकाँश ग्रामिण सडक अबरुद्ध, घर पुग्ने यात्रुलाई सास्ती


नेपाल समाचारपत्र, पर्वत ।

निरन्तरको बर्षाका कारण पर्वत जिल्लाका अधिकाँश ग्रामिण सडकमा दशैंमा पनि यातयात सेवा अबरुद्ध हुने देखिएको छ । मनसुन सुरु भएपछि गएको असारदेखि अवरुद्ध सडक खुलाउन बर्षा रोकिएको कारण देखाउँदै स्थानीय सरकारले चासो नदेखाउँदा अधिकांश सडक अवरुद्ध भएका हुन ।

जिल्लाको उत्तरतर्फका सडकमा जेनतेन सवारी साधन चलेपनि दक्षिणका बिहादी, पैयुं र महाशिला गाउँपालिका जोड्ने सडक सुचारु हुन सकेका छैनन । कुश्मा र जलजला गाउँपालिका जोड्ने कतिपय मुख्य सडकसमेत ३ सातायता लगातार परेको वर्षापछि अवरुद्ध भएका छन ।

असारदेखि बिग्रिएको सडक मर्मतमा ढिलाइ हुँदा बिहादी गाउँपालिकामा खाद्यान्न ढुवानी रोकिएको छ । भदौभित्रै सक्ने भन्दै सडक बिस्तार सुरु भएको सडक अहिले पनि पुरा नहुँदा समस्या भएको गुनासो स्थानियको छ । सबैभन्दा कठिन मानिने खबराको भीरमा पैदल हिंड्न समेत मुस्किल छ । बिहादीबासीलाई कुश्मा हुँदै अन्य जिल्ला पुग्ने एकमात्रै मुख्य सडक चार महिनासम्म अवरुद्ध हुँदा दैनिक अत्यावश्यक सामान ढुवानीमा गम्भीर समस्या भएको स्थानीय हितमान गुरुङले बताउनुभयो । पाङ्गराङ्गमा गएको पहिरो हटाउने काम भएपनि यातयात अझै सहज भएको छैन ।

दक्षिणका पाङ्गराङ, बाच्छा, होस्राङ्दी, टकलाक, सरौंखोला, रानीपानी, हुवास, भोर्ले, त्रिवेणी लगायत २ दर्जन वडा जोड्ने खानीगाउँ–पाङ्राङ–त्रिवेणी सडक ३ महिनादेखि अवरुद्ध छ । ‘सडक बिग्रिएपछि बिरामीलाई अस्पताल र्पुयाउन सकिएको छैन,’ बेउलीबासका बेलप्रसाद काफ्लेले भन्नुभयो , ‘जहिलेसुकै बर्खामा यस्तै हो ।’ स्थानीय तहलाई सडक खुलाउन धेरैपटक गरेको आग्रह बेवास्ता गरिएको उहाँले बताउनुभयो । सडकका ठाउँठाउँका पहिरोले पुरेपछि गम्भीर बिरामीलाई स्ट्रेचरमा बोकेर लैजान पनि समस्या भोग्नुपरेको पाङ्राङका राधाकृष्ण पाठकको गुनासो छ ।

महाशिला गाउँपालिकाका प्रमुख राजुप्रसाद पौडेल बर्षा नरोकिएका कारण सडक मर्मत हुन नसकेको बताउनुहुन्छ । सडकमा गएको पहिरो हटाउने हो भने बर्षा नरोकिँदा झनै समस्या हुने उहाँको भनाई छ । बर्षा रोकिएमा दुई दिनमै सडक तयार गर्न सकिने बिश्वास उहाँको छ ।

कच्ची सडकमा बाढी र हिलो जमेपछि सवारीसाधन चलाउन मुस्किल छ । सवारी नचलेपछि गाउँका सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ । पैयुं–७ का हुमप्रसाद बस्यालले कुश्मा पुगेर घर फर्किन ५ दिन लागेको बताउनुभयो । ‘हिउँदमा आज गएर भोलि सजिलै फर्किन्थ्यो,’ बस्यालले भन्नुभयो ‘अहिले पोखरा हुँदै कुश्मा पुग्नै २ दिन लाग्यो । आउन २ दिन ,१ दिन काममै खर्च भयो ।’