सहकारी एकिकरणमा सामुदायिकको अर्को सफलता


न्युज अफ नेपाल,काभ्रे ।

सहकारी एकिकरणमा सामुदायिक वचत तथा ऋण सहकारी संस्थाले फेरी अर्को सफलता प्राप्त गरेको छ ।

पनौतीमा केन्द्रिय कार्यालय रहेको यस संस्थाले समुदायका ब्यक्तिहरुलाई संस्थामा आबद्ध गराउँदै कार्यक्षेत्र भित्रका विभिन्न सहकारी संस्थाहरुलाई एकिकृत गर्दै वित्तीय रुपमा सवल र सक्षम संस्था स्थापना गरी शेयर सदस्यहरुलाई प्रतिस्पर्धी सेवा स्थानीय तहमै उपलब्ध गराउने उदेश्यले एकीकरण अभियानमा अर्को पाइला चालेको छ ।

सामुदायिक वचत तथा ऋण सहकारी संस्था लि. पनौती ४, टौखालमा काभ्रे जिल्लामा सहकारी एकिकरणको अभियानमा अगाडी बढिरहेको संस्थाले पछिल्लो समयमा पनौती नपा वडा नं ६ मा रहेको गोठाला गणेश वचत तथा ऋण सहकारी संस्थासँग सम्झौता गरेको छ । २०७६ असोज १३ गते सामुदायिक वचत तथा ऋण सहकारी संस्थाको सभाहलमा वसेको एकिकरण सम्वन्धि संयुक्त छलफल वैठकमा संस्थाका अध्यक्ष प्रकाश वन्जारा,लेखा समिति सम्योजक हरि प्रसाद तिमल्सिना, उपाध्यक्ष, कुमार प्रसाद लामिछाने कोषाध्यक्ष प्रताप ताम्राकार सञ्चालक सदस्य कान्छा प्राधान प्रमुख कार्यकारी अधिकृत मदन वस्नेत, प्रमुख सल्लाहकार शम्भुलाल श्रेष्ठ, परामर्शदाता दीपक थापा र गोठाला गणेश वचत तथा ऋण सहकारी संस्था तर्फबाट अध्यक्ष रामबाबु के. सी., कुमार वोगटी, केदारनाथ आचार्य लगायतको उपस्थिती रहेको थियो। संयुक्त वैठक पश्चात दुर्इ संस्थाका अध्यक्षहरूले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

यस अघि २०७६ जेष्ठ १४ गते बासडोल सामुदायिक बहुउदेश्यीस सहकारी संस्था, २०७६ असार २५ गते मिलिजुली नारी चेतना वचत तथा ऋण सहकारी एकिकरणको सम्झौता गरिसको संस्थाले श्रावण ७ गते पनौती ११ बल्थली स्थित श्री गाउँवेशी साना किसान कृषि सहकारी र पनौती ३ कुशादेबीमा रहेको जनजीबन बचत तथा ऋण सहकारी संस्था श्रावण १० गते पनौती ११ बल्थली मा रहेको श्री लड्केश्वरी नारी चेतना बचत तथा ऋण सहकारी संस्था संग एकीकरण सम्झौता गरिसकेको । यी ६ वटा सहकारी संस्थाहरु एकीकरण पश्चात २ अर्बको हाराहारीमा कुल पुँजी पुग्ने भएको छ भने यो संस्थामा २५ हजार भन्दा बढी शेयर सदस्य हुने भएका छन् ।

तत्कालिन पनौती नगरपालिका र जोडिएका ५ गाविस कार्यक्षेत्र भएको यस संस्थाले २०६८ सालबाट नै अन्य सहकारी संस्थाहरुसँग एकीकरणको प्रयास गर्दै आएको थियो । सामुदायिकले २०७३ सालमा बनेपा स्थित तत्कालिन जगत गुरु वचत तथा ऋण सहकारी संस्थासँग एकीकरण गरी आफ्नो कार्यक्षेत्र काभ्रेपलाञ्चोक जिल्लाभर कायम गरेको थियो भने छोटो अवधिमा नै जिल्लाका मुख्य मुख्य स्थानहरुमा ९ वटा सेवा केन्द्रहरु सञ्चालनमा ल्याएको संस्थाले एटिएम मेसिनबाट सदस्यहरूलार्इ सेवा प्रदान गरिरहेको छ ।