कुलेश्वर आवासमा अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस


न्युज अफ नेपाल, काठमाडौं ।

कुलेश्वर आवास परिवार कल्याण संस्था ज्येष्ठ नागरिक मिलन केन्द्रको आयोजनामा २९औं अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस ज्येष्ठ नागरिकहरुलाई सम्मान गरी मनाइएकाे छ ।

संस्थाका अध्यक्ष लोकनाथ पोखरेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा ८० वर्ष माथिका ५ जना ज्येष्ठ नागरिकहरु (महिला ४, पुरुष १ जना) लाई राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष मदनदास श्रेष्ठद्वारा फूलमाला र दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

यसै गरी वरिष्ठ ज्येष्ठ नागरिक ९४ वर्षीय हरिहर बास्कोटाको जन्मोत्सब र उहाँकी धर्मपत्नी भोजकुमारी बास्कोटाको जन्मजयन्ति मनाउने कार्य एकैसाथ सम्पन्न गरियो ।

उक्त अवसरमा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटाबाट ज्येष्ठ नागरिकहरु स्वस्थ रहनको लागि सजिलो संग दैनिकी जीवन यापन गर्न शाकाहारी भोजन लगायत आहार विहारको महत्व पूर्ण विभिन्न विधिहरु माथी प्रकाश पार्नु भएको थियो ।

राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष मदनदास श्रेष्ठबाट ६० वर्ष नाघेका ज्येष्ठ नागरिकहरुका लागि बैंक तथा बित्तिय संस्थाहरुबाट ऋण लिन पाउने र स्वास्थ्य बिमा सम्बन्धि लगायतका कार्यहरुको लागि ज्येष्ठ नागरिक महासंघले सरकारी निकायसंग पुलको रुपमा काम गरेको कुरा व्यक्त गर्नुभयो ।

यसै गरी संस्थाका निवर्तमान अध्यक्ष लक्ष्मीनाथ श्रेष्ठबाट राज्यले जे.ना.हरुलाई जिवन यापनको लागि उचित सम्मान दिनुपर्छ भन्नुभयो । डा. देवी प्रसाद भूसालले ज्येष्ठ नागरिककको लागि अस्पतालहरुमा छुट्टै शैयाको व्यवस्था हुनुपर्ने सुझाब दिनुभयो । संस्थाकी सल्लाहकार पन्चकुमारी मानन्धरबाट स्वगत भाषण गर्दै विश्वका केही देशका ज्येष्ठनागरिकहरुको जीवनशैली बारे आफ्नो अनुभव प्रस्तुत गर्नुभयो । यसैगरी पुरातत्व विभागका पूर्व महानिर्देशक तथा संस्थाका संस्थापक सदस्य भेषनारायण दाहाल, पं. नारायण प्रसाद आचार्य कौशिक, समाजसेवी हरिओम मानन्धर, अधिवक्त प्रविण प्रधान, वरिष्ठ ज्येष्ठ नागरिक हरिहर बास्कोटाबाट ज्येष्ठ नागरिकहरुको सु–स्वास्थ्य र दीर्घायुको कामना गर्नुभएको थियो ।

संस्थाका सदस्य तथा ज्येष्ठ नागरिक मिलन केन्द्रका सचिव त्रिलोचन प्रसाद जोशी र सदस्य उमा श्रेष्ठद्वारा सञ्चालित उक्त कार्यक्रममा ज्येष्ठ नागरिक मिलन केन्द्रका संयोजक फणिन्द्र राज पन्तबाट धन्यवाद ज्ञापन गर्नुभएको थियो र अन्तमा सभापति लोकनाथ पोखरेलबाट हाम्रै देशको परम्परा संस्कृति अनुसार ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्ने कार्यक्रमको परिपाटी बसाउने तर्फ जोडदिँदै कार्यक्रमको समापन गर्नुभएको थियो ।