विश्व हुलाक दिवसमा सम्मान तथा राहत वितरण


नेपाल समाचारपत्र, म्याग्दी

जिल्ला हुलाक कार्यालय म्याग्दीको आयोजनामा विश्व हुलाक दिवसको पूर्वसन्ध्याको अवसर पारेर विविध कार्यक्रम सम्पन्न भएको छ।
‘अबको हुलाक सेवा: सेवामा विविधता र प्रतिस्पर्धा’ भन्ने मूल नारासहित १ सय ४५औं विश्व हुलाक दिवस मनाइएको हो। दिवसको अवसरमा उत्कृष्ट कर्मचारी सम्मानित गर्नुका साथै बाढीपीडितलाई राहत वितरण गरिएको हो।

हुलाक कार्यालय म्याग्दीले बेनी नगरपालिका–२, बगरफाँटका ७ जना बाढी पीडितलाई प्रति परिवार एकएक बोरा चामल र एकएक थान ब्ल्याङ्केट सहयोग गरेको जनाएको छ।

उक्त सामग्री प्रदान गर्नका लागि जिल्ला हुलाक कार्यालयमा कार्यरत ११ जना कर्मचारीले प्रतिव्यक्ति ५ सय रुपियाँका दरले आर्थिक संकलन गरी सामग्री खरिद गरेर बाढी पीडितलाई सहयोग गरिएको कार्यालय प्रमुख साधनाकुमारी श्रेष्ठले बताउनुभयो।

हरेक वर्ष अक्टोबर ९ तारिखमा पर्ने विश्व हुलाक दिवस यस वर्ष भने नेपालीहरूको महान् पर्व दशैंमा परेका कारणले विभागको निर्देशनअनुसार बुधबारै मनाइएको कार्यालय प्रमुख श्रेष्ठको भनाइ छ।

उक्त सामग्री महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा र जिल्ला हुलाक अधिकृत श्रेष्ठले बाढी पीडितलाई संयुक्तरुपमा हस्तान्तरण गर्नुभएको थियो। पीडितलाई सानो भए पनि सहयोग होस् भन्ने उद्देश्यले हुलाक दिवसको सन्दर्भमा सहयोग गरिएको बताइएको छ।

सोही कार्यक्रमको अवसरमा कार्यालयमा उत्कृष्ट कार्य गरेको भन्दै हल्कारा पदमा कार्यरत चन्द्रबहादुर केसीलाई सम्मान गरिएको जिल्ला हुलाक कार्यालय म्याग्दीले जनाएको छ। केसीलाई मन्त्री थापाले प्रमाणपत्र प्रदान गर्नुभयो भने प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो।
यसैबीच हुलाक दिवसको अवसरमा कार्यालय परिसर तथा पदमार्गमा सरसफाइसमेत गरिएको थियो।

उक्त कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसी, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, नेकपा म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठ, सदस्य बालकृष्ण सुवेदी, बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्मा, बेनी नगरपालिका–२ का वडा अध्यक्ष हिराबहादुर थापा, ७ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ र ८ का वडाध्यक्ष रामकृष्ण बराइलीलगायत सरोकारवाला तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।