बार्सिलोनाद्वारा मिलान पराजित


लन्डन, एजेन्सी । 

टलान क्लब बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब इन्टर मिलानलाई एक गोलले पछि परेको स्थिति उल्ट्याएर २–१ ले पराजित गरेको छ ।

घरेलु मैदान नोउ क्याम्पमा बुधबार राति भएको खेलमा बार्सिलोनालाई जित दिलाउन लुइस स्वारेजले दुई गोल गरेका थिए। इन्टरका लागि लौटारे मार्टिनेजले एक गोल गरेका थिए। खेलको तेस्रो मिनेटमा नै मार्टिनेजको गोलबाट घरेलु टोली बार्सिलोना पहिलो हाफमा १–० ले पछि परेको थियो। मार्टिनेजले एलेक्सिस सान्चेजको पासमा गोल गरेका थिए। सुआरेजको गोलबाट बार्सिलोनाले ५८औं मिनेटमा खेललाई १–१ को बराबरीमा ल्यायो। खेल सकिन ६ मिनेट बाँकी रहँदा कप्तान लियोनल

मेसीको पासमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे।
सोही समूहको अर्को खेलमा जर्मन क्लब बोरुसिया डर्टमन्डले चेक रिपब्लिक क्लब स्लाभिया प्रागमामाथि २–० को सहज जित निकाल्यो। टोलीका लागि दुवै गोल आचरफ हाकिमीले गरेका थिए। जितसँगै डर्टमन्ड २ खेलबाट ४ अंक जोडेर समूह ‘एफ’ को शीर्षस्थानमा रहेको छ। गोलअन्तरमा ४ अंकको बार्सिलोना दोस्रो तथा १–१ अंक जोडेका प्राग र इन्टर मिलान क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन्।

यसै गरी रसियन क्लब जेनिथ सेन्ट पिटर्सवर्ग र फ्रेन्च लिग वान क्लब लियो विजयी भएका छन्। घरेलु टोली जेनिथले पोर्चुगिज क्लब बेन्फिकामाथि ३–१ को जित निकालेको हो। टोलीको जितमा अर्टिम ज्युभा र सरदार अजमौनले गोल गरेका थिए। अर्को एक गोल भने आत्मघाती उपहार पाएको थियो। बेन्फिकाका डी टोमासले सान्त्वना गोल फर्काए। जितसँगै समूह ‘जी’ मा जेनिथ २ खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा उक्लिँदा बेन्फिका अंकविहीन हुँदै पुछारमा छ। यही समूहको अर्को खेलमा लियोनले घरेलु टोली आरबी लेइप्लिजमाथि २–० को जित निकाल्यो। टोलीकोे जितमा मेम्फिस डिपे र मार्टिन टेररले गोल गरे। जितसँगै लियोन ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। लेइप्लिज ३ अंकसहित तेस्रो स्थानमा छ।

लाम्पार्डलाई जितको स्वाद

इंग्लिस क्लब चेल्सीले फ्रेन्च टोली लिलेमाथि २–१ को जित निकालेपछि मेनेजर लाम्पार्डले पहिलोपटक जितको स्वाद चाखेका छन्। लाम्पार्ड यसै सिजन चेल्सीको मुख्य प्रशिक्षकको रूपमा नियुक्त भएका हुन्। च्याम्पियन्स लिगको पहिलो खेलमा चेल्सी भ्यालेन्सियासँग १–० ले पराजित भएको थियो। फ्रान्समा भएको खेलमा चेल्सीको जितमा टम्मी अब्राहम र विलियनले गोल गरे। घरेलु टोलीका भिक्टर ओसिमहेनले एक गोल फर्काए। जितसँगै चेल्सी समूह ‘एच’ मा २ खेलबाट ३ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ। लिले अंकविहीन रहँदै पुछारमा छ।

यही समूहको अर्काे खेलमा नेदरल्यान्ड्सको आयाक्सले भ्यालेन्सियालाई उसकै मैदानमा ३–० ले पराजित गरेको छ। आयाक्सको जितमा हाकिम जियाच, क्विन्सी प्रोमिस र डोनी भान विकले गोल गरे। जितसँगै अपराजित रहेको आयाक्स २ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहँदा भ्यालेन्सिया ३ अंक जोडेर दोस्रो स्थानमा छ।

भाग्यमानी लिभरपुल

त्यस्तै इंग्लिस क्लब लिभरपुलले यूईएफए च्याम्पियन्स लिग फुटबलमा अस्ट्रियन क्लब साल्र्जवर्गमाथि संघर्षपूर्ण जित निकालेको छ। घरेलु मैदान एनफिल्डमा एक समय ३–० को आरामदायी अग्रता लिएर पनि लिभरपुलले ४–३ को जित निकालेर भाग्यमानी सावित भयो। टोलीलाई जित दिलाउन मोहम्मद सलाहले २ तथा एन्ड्रिउ रोबर्टसन र साडियो मानेले गोल गरे। साल्जवर्गका हे चान ह्वाङ, ताकुमी मिनामिमो र अर्लिङ ब्राउट हल्यान्डले गोल गरे।

लिभरपुलले समूह ‘ई’ मा पहिलो जित निकाल्दै ३ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ। ३ अंकसहित साल्जवर्ग तेस्रो स्थानमा छ। यही समूहको अर्को खेलमा इटालियन क्लब नेपोली र बेल्जियन क्लब जिन्कले गोलरहित बराबरी खेल्दै अंक बाँडे। ४ अंकसहित नेपोली शीर्षस्थानमा रहँदा जिन्क १ अंकसहित पुछारमा छ।