पाटन भ्याली च्याम्पियन


विनोदसिंह विष्ट, बैतडी । 

बैतडीको पाटनमा जारी प्रथम मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि पाटन भ्यालीले जितेको छ। बिहीबार सम्पन्न फाइनल खेलमा पाटन स्टारलाई ६६ रनले पाखा लगाउँदै भ्यालीले उपाधिमाथि कब्जा जमाएको हो।

उपाधि हात पारेसँगै भ्यालीले ३० हजार पुरस्कार पाएको छ भने स्टारले २० हजारमा चित्त बुझायो। श्रीकृष्ण माविको खेलमैदानका टस हारेर ब्याटिङको निम्ता पाएको भ्यालीले निर्धारित २० ओभरमा सुरेश जोशीको नटआउट ४७ रनको मद्दतमा ९ विकेट गुमाएर १ सय ७२ रन बनायो।

स्टारका किरन चन्दले ४ तथा पंकज चन्दले २ विकेट हात पारे। १ सय ७३ रनको विजय लक्ष्यका साथ मैदान उत्रेको स्टार १७ ओभरमा १ सय ६ रनमा समेटियो। जसमा किरण चन्दले सर्वाधिक ३१ रनको योगदान गरे। स्टारको पारी ध्वस्त पार्ने क्रममा भ्यालीका पारस विष्ट र धिरेन्द्र चन्दले ३–३ विकेट लिए।