डादशैंमा घुइँचो लाग्ने निंगलाशैनी देवीको मन्दिर


नेपाल समाचारपत्र, बैतडी । 

दशैंतिहारका लागि घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि बैतडीमा विभिन्न गन्तव्यहरू रहेका छन्। दशरथचन्द नगरपालिकामा रहेको निंगलाशैनी भगवती मन्दिर र त्रिपुरासुन्दरी मन्दिर तीनै आकर्षक मन्दिरमध्येमा पर्दछन्।

निंगलाशैनी भगवती मन्दिर धार्मिक आस्थाको मुख्य केन्द्रका रूपमा परिचित छ। वर्षमा चारपटक भव्यरूपमा जात्रा लाग्ने यो मन्दिर पर्यटक तान्ने आकर्षक गतन्व्यका रूपमा रहेको दशरथचन्द नगरपालिका–२ का वडा अध्यक्ष रनबहादुर बोहराले बताउनुभयो।

निंगलाशैनी भगवती मन्दिरमा दशैंको अवसरमा पनि मेला लाग्ने गर्दछ। दशैंको घटस्थापनाका दिन यो मन्दिरमा सामूहिक जमरासमेत राख्ने चलन रहेको छ। यसका साथै यहाँ महाअष्टमीका दिन पूजाआजासहित राँगा र बोकाको बली दिइन्छ।

यसका साथै सरकारले हालै घोषणा गरेको एक सय पर्यटकीय गन्तव्यको सूचीमा पर्न सफल त्रिपुरासुन्दरी मन्दिर पनि पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ। सदरमुकाम गोठलापानीवाट करिब ४ किलोमिटर पश्चिममा रहेको यो मन्दिरमा विभिन्न पर्वहरूमा जात्रा लाग्ने गर्दछ।

यस्तै मेलौलीमा रहेको मेलौली भगवती मन्दिर पनि दशैंका बेला पर्यटकका लागि आकर्षणको केन्द्रको रूपमा रहेको छ। मेलौलीसम्म सडक पुगेकाले अहिले दर्शनार्थीलाई समेत सजिलो हुने गरेको मेलौलीका केशवसिंह भाटले बताउनुभयो।

यस्तै जिल्लाको पुर्चौडी क्षेत्रमा रहेको डिलाशैनी भगवतीको मन्दिरमा पनि दशैंको समयमा मेला लाग्ने भएकाले घुम्न तथा दर्शन गर्नका लागि उपयुक्त स्थान हुने स्थानीयले बताएका छन्।

बैतडीमा सात बहिनी भगवतीका मन्दिर र सात भाइ केदारका मन्दिर धार्मिक पर्यटकका लागि आकर्षणका केन्द्र बन्नपुगेका छन्। यसका साथै पाटनमा रहेको उदयदेव मन्दिर, महारुद्र मन्दिर, सिगास गाउँपालिकास्थित सिगासधुरा, दोगडाधाम, सुर्नया स्थित रौलाकेदार, दशरथचन्द नगरपालिकास्थित ग्वाल्लेक मन्दिर पनि धार्मिक पर्यटकका लागि उचित गन्तव्य रहेका छन्। यस्तै नेपालकै गहिरो गुफा रहेको पत्ताल भुवनेश्वर पनि पर्यटकलाई आकर्षित गर्ने महत्वपूर्ण गन्तव्य बनेको छ।