वर्षौंपछि दशैं आयो सुभद्राको घरमा


कृष्णउदास खनाल, हेटौंडा ।

बिहीबार बिहान हेटौंडाको मौसम चिसो नै थियो, हेटौंडा–९ की सुभद्रा दर्नाल अघिपछि जस्तै आफ्ना पितृ भएका छोराहरूको घरमा राखेको सानो फोटोमा पूजा गर्दैै पानी चढाउँदै केही मन्त्र जप गर्दै थिइन्। उनको घरमा खाद्य सामग्रीसहित हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको टोली पुग्यो।
वषौंसम्म चाडवाडमा रोएर बसेकी सुभद्राको खुसी फर्किंदा हर्षको सीमा रहेन। मुलुकमा दुई खालका आन्दोलनका क्रममा आफ्ना चार जना छोरा गुमाएकी हेटौंडा–९ की सुभद्रा दर्नालको घरमा यसभन्दा अगाडिका धेरै चार्डपर्व खान र लाउनकै पीडामा बिते।

छोरा गुमाउँदाको थप पीडा पनि त्यतिकै थियो। घरमा बिहान बेलुकाको छाक टार्न पनि धौ–धौ परिरहन्थ्यो। त्यसमा पनि उहाँको बिरामीले थलिएको बृद्ध शरीर। बिहीबार हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत दशैका लागि सामान बोकेर घरमा पुग्दा हर्षले उहाँका आँखासमेत रसाए।
झुप्रोमा बस्दै आउनुभएकी दर्नालको घरमा गई मेयर महतले दुई बोरा चामल, दाल, तरकारी, आलु, प्याज, तेल, चिनी, नुन, मसलालगायतका सामान हस्तान्तरण गर्नुभयो।

दशैंमा लगाउनका लागि उहाँ र उहाँका नातिनीलाई कपडा, दशैं, तिहार मान्नका लागि नगद रकमसमेत मेयर महतले हस्तान्तरण गर्नुभयो। मुलुकको परिवर्तनका लागि छोरा गुमाए पनि वषौंदेखि उहाँलाई धेरै खालका अभाव नै अभाव थियो। तर, स्थानीय सरकारले आफ्नै घरमा आएर सहयोग गरेकोमा उहाँले धन्यवादसमेत व्यक्त गर्नुभयो।

आन्दोलनका क्रममा आफ्ना चार छोरा गुमाउन पुगेकी मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ की ७० वर्षीया सुभद्रा दर्नाललाई हेटौंडा उपमहानगरपालिकाले सहयोग गरेको हो। आफ्नी १८ वर्षीया नातिनी अस्मिसा दर्नालको साथमा सुकुम्वासी बस्तीमा बस्दै आउनुभएकी सुभद्रलाई मेयर महतले नगरपालिकाको बैठकबाट निर्णय गरी बस्ने घरको व्यवस्था मिलाइने प्रतिबद्धता जनाउनुभएको छ।

शहीद छोराको बलिदानीमा आफूहरू स्थानीय सरकारको प्रमुख भएका कारण शहीद परिवारको त्यागको आफूले सम्मान गरेको मेयर महतले बताउनुभयो। उहाँले सुभद्राको बस्ने, खानेसहित औषधी उपचारकोसमेत व्यवस्था आफूले गरिदिने र नातिनीको जिविकोपार्जनको लागि पनि सहयोग गर्ने बताउनुभएको थियो।
एका बिहानै खानेकुरा लिएर मेयर आफ्नो घरमा आउँदा आफ्नै छोरा आएको जस्तो आफूलाई अनुभूति भएको सुभद्रा दर्नालले नेपाल समाचारपत्रसँग बताउनुभयो। आफ्ना बुबा नै घरमा आएर आफूलाई नयाँ कपडा दिएको जस्तो आफूलाई लागेको नातिनी अस्मिसा दर्नालको भनाइ छ।

सुभद्रा दर्नालले झेल्नु परेको पीडाको समाचार नेपाल समाचारपत्रमा प्रकाशित भएपछि हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले चासो दिँदै सहयोग गर्नुभएको हो।