उत्कृष्ठ वडा समिति र जनप्रतिनिधि पुरस्कृत


नेपाल समाचारपत्र, जाजरकोट ।

जिल्लाको जाजरकोट नलगाड नगरपालिकाले उत्कृष्ट कार्य सम्पादन गरेका वडा समिति, जनप्रतिनिधि र उपभोक्ता समितिलाई पुरस्कृत गरेको छ। गत आर्थिक वर्षको बजेट तथा कार्यक्रमको वार्षिक समीक्षा गरी उत्कृष्ट कार्य सम्पादन पुरस्कार प्रदान गरिएको हो।

नलगाड नगरपालिकाले सञ्चालन गरेका कार्यक्रमलगायत नागरिक मैत्री कार्यक्रम गरेका जनप्रतिनिधि, गुणस्तरीय योजना निर्माण गर्ने वडा कार्यालय, जनप्रतिनिधि र उपभोक्ता समितिलाई नगर कार्यपालिकाले गरेको निर्णयअनुसार पुरस्कृत गरेको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले बताउनुभयो।

यस वर्षको उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै वडा समिति तर्फ नलगाड नगरपालिका वडा नं. ५ को वडा समिति, जनप्रतिनिधितर्फ वडा नं. १२ का वडा अध्यक्ष लालबहादुर खत्रीलाई उत्कृष्ट पुरस्कार प्रदान गरिएको छ।

पुरस्कृत नलगाड नगरपालिका ५ का वडा अध्यक्ष केशवप्रसाद शर्माले १३ वटा वडा मध्ये आफ्नो वडा समितिले उत्कृष्ट कार्य सम्पादन गरेकाले पुरस्कृत भएकोमा खुसी व्यक्त गर्नुभयो।

सो अवसरमा गत वर्ष नगरपालिकाले सञ्चालन गरेका योजनालगायत नलगाड नगरपालिकाले दिएको सेवा सुविधाको गुणस्तरका विषयमा सार्वजनिक सुनुवाई सञ्चालन गरेको छ।