दशैंमा पनि सुपथ मूल्य पसल सञ्चालनमा आएन


नेपाल समाचारपत्र, बैतडी

नेपालीहरूको मुख्य चाडपर्व दशैं शुरू भएको छ तर सरकारले हरेक वर्ष चाडपर्वलाई लक्षित गर्दै सञ्चालन गर्ने सुपथ मूल्य पसल सुदूरपश्चिम प्रदेशमा भने अझैं सञ्चालनमा आउन सकेका छैनन्। यस वर्ष भने सरकारले भदौ २३ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा आएको घोषणा गरेको भए पनि सुदूरपश्चिममा भने अझैं सञ्चालनमा आउन नसक्दा उपभोक्ता समस्यामा परेका छन्।

विगतका वर्षहरूमा दशैंतिहार, छठसहितका चाडपर्वलाई लक्षित गरी सुदूरपश्चिमका ७ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुँदै आएको थियो तर सुपथ मूल्य पसल सुदूरपश्चिम प्रदेशको धनगढीबाहेक अन्य बजार तथा जिल्लामा अझैं खुल्न नसकेको साल्ट टे«डिङ कर्पोरेसन अञ्चल कार्यालयका सूचना अधिकारी रामचन्द्र जोशीले जानकारी दिनुभयो।

साल्ट ट्रेडिङ कर्पोरेसनले हाल अञ्चल कार्यालय धनगढीमा मात्रै सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ। कर्पोरेसनले विगतका वर्षहरूमा कैलालीको धनगढीमा रहेको अञ्चल कार्यालय, टीकापुर, कञ्चनपुरको महेन्द्रनगर, बेलौरी, डोटीको दीपायल, डडेल्धुरा र बैतडीको पाटनमा दशैंतिहार तथा छठलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने गरेको थियो।
साल्ट टे«डिङ कर्पोरेसनका सूचना अधिकारी जोशीका अनुसार अनलाइन बिलिङले गर्दा समस्या भएको हो। आन्तरिक राजस्व कार्यालयले अनलाईन बिल काटेर मात्रै सामग्री बिक्री गर्न भनेको छ उहाँले भन्नुभयो, ‘सुदूरपश्चिममा साल्ट टे«डिङ कर्पोरेसन अञ्चल कार्यालय धनगढीबाहेक अन्य ठाउँमा अनलाइन बिल काट्न समस्या छ।’
कम्प्युटर, सफ्टवेयर र इन्टरनेटलगायतका उपकरणको समस्याले अन्य स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न सकिएको छैन्। ‘यस विषयमा आन्तरिक राजस्व कार्यालय र मुख्यमन्त्रीसँग अनुरोध गरेका छौं’ जोशीले भन्नुभयो,‘अहिले हाते बिल काटेर पछि धनगढीमा एकै पटक इन्ट्री गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छौँ’।
आन्तरिक राजश्व कार्यालयले ३५ करोडभन्दा माथिको कारोबार गर्ने संस्थालाई अनलाईन बिलिङ अनिवार्य गरेको उहाँँले बताउनुभयो। उहाले भन्नुभयो– ‘कम्युटरमा दक्ष जनशक्तिसमेत नहुँदा समस्या भएको छ।’

सुपथ मूल्य पसलको लागि नून यस अघिकै मौज्दात रहेको र चिनी सुपथ मूल्य पसल सञ्चालनमा नआएकाले सम्बन्धित डिपोमा नपठाएको साल्ट टे«डिङ कर्पोरसन अञ्चल कार्यालय धनगढीले जनाएको छ।

महँगो मूल्यमा सामान किन्दै उपभोक्ता

दशैं शरू हुँदासमेत सुदूरपश्चिममा सुपथ मूल्य पसल सञ्चालनमा नआउँदा महंगो मूल्यका सामान खरिद गर्नुपर्दा यहाँका स्थानीय बासिन्दा आक्रोशित भएका छन्। चाडपर्वलाई लक्षित गरी खुल्ने सुपथ मूल्य पसल दशैं शरू हुँदासमेत सञ्चालनमा नआउँदा उपभोक्ता आक्रोशित भएका छन्।

चाडपर्वको बेला सहुलियत मूल्यमा सामान किन्नको लागि सुपथ मूल्य पसल सञ्चालनमा नआउँदा रित्तै हात फर्किनुपरेको स्थानीय वसन्त विष्टको भनाइ छ। सुपथ मूल्यका पसल सञ्चालन नहुँदा बजारमा तोकिएभन्दा महँगो मूल्यका सामान किन्नु परेको छ। पाउने सुविधाबाट समेत नागरिक बञ्चित भएका छन्।

सुपथ मूल्य पसल सञ्चालनमा नआउँदा रित्तै फर्किनुपरेको पाटनका स्थानीय दिनेश विष्टले बताउनुभयो। सुपथ मूल्य पसलमा बजारको दर रेटभन्दा सस्तोमा दैनिक उपभोग्य वस्तु उपलब्ध हुने गरेको छ।

बजारमा हाल चिनी रु ९० देखि १०० सम्म र नुन रु २५ प्रतिकिलोका दरले बिक्री हुँदै आएको छ। सुपथ मूल्य पसलमा भने चिनी प्रतिकिलो ७२ र नून प्रतिकिलो १८ रुपैंयामा बिक्री हुने गर्दछ ।

डिपो कार्यालयका कर्मचारी अन्योलमा

सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा रहेका साल्ट टे«डिङ कर्पोरेसन डिपो कार्यालयका कर्मचारी सुपथ मूल्य पसल सञ्चालनमा नआउँदा अन्यौलमा छन्। डिपोमा नून भए पनि सुपथ मूल्य पसल सञ्चालन गर्न निर्देशन नदिएकाले बिक्री गर्न नसकिएको साल्ट टे«डिङ कर्पोरेसन डिपो कार्यालय पाटनका प्रमुख नरेन्द्र धामीले बताउनुभयो।

सुपथ मूल्य पसल सञ्चालन कहिले आउँछ भनेर नागरिकले सोध्ने गरेका छन्। पसल सञ्चालनमा नआएकोले फर्किने गरेका छन्। उहाँले भन्नुभयो,‘माथिबाट सुपथ मूल्य पसल सञ्चालनको अनुमति नआँउदा भएको सामानसमेत बिक्री गर्न समस्या छ’।

पाटनमा हाल ३ सय ८० बोरा नून मौज्दात रहेको र चिनी सुपथ मूल्य पसल सञ्चालनमा नआउँदा नआएको डिपो प्रमुख धामीको भनाइ छ।