लाखौं ठगी गरी प्रहरी फरार


नेपाल समाचारपत्र, पोखरा

कास्कीमा प्रहरी नै लाखौं रुपियाँ ठगी गरी फरार भएका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी जवान विनोद परियारले जग्गाको बैनाबापतको १० लाख रुपियाँ फिर्ता नगरी केही समय अघिदेखी फरार रहेकोमा निलम्वित भएका छन्। परियारको नाममा पक्राउ पूर्जी जारी भइसकेको प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा परियार विरुद्ध ठगीको उजुरी परेको र लामो समयसम्म विदा नमागी कार्यालयमा हाजिर नभएको कारण परियारलाई निलम्बन गरिएको हो। परियार प्रहरी सुचीकारको रूपमा काम गर्दै आएका थिए। एक व्यक्तिलाई जग्गा देखाएर बैनाबापत लिएको १० लाख रुपियाँ फिर्ता नगरी अर्कै व्यक्तिलाई जग्गा पास गराएर ठगी गरेको उजुरी परेको कास्की प्रहरी प्रवक्ता राजकुमार केसीले बताउनुभयो ।

परियारले कास्की जिल्ला भित्रको जग्गा देखाएर विभिन्न व्यक्तिलाई ठगी गरेको कास्की प्रहरीमा उजुरी प्राप्त भएको बताइएको छ। ‘उनले धेरैको रकम ठगेको अनुमान छ, तर पनि उजुरी भने सबैले दिएका छैनन्’, प्रवक्ता केसीले नेपाल समाचारपत्रसँग भन्नुभयो।

परियारले जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरीलाई नै ठगी गरेको प्रहरी स्रोतको दाबी छ। परियारले विभिन्न बहाना बनाउँदै प्रहरीबाट नै २५ हजारदेखि ४० लाख रुपियाँसम्म ठगी गरेको प्रहरी स्रोतको दाबी छ। एउटै जग्गा देखाएर परियारले ५ जनाभन्दा बढीलाई बैना कागज गरेको भेटिएको स्रोतको दाबी छ। केही व्यक्तिसँग विजयपुरमा रहेको भेटेरनरी एग्रोलाई देखाएर पैसा लिएको तर फिर्ता नदिएको स्रोतको दाबी छ।

परियारले अन्दाजी ४५ दिन अघिबाट मोबाइल अफ गरेर फरार रहेको प्रवक्ता केसीले भन्नुभयो। केसीका अनुसार उनी ड्युटीबाट नै विदा नलिई फरार भएका थिए।