व्यक्तिको गल्तीको भार पार्टीले बोक्दैन: बाँस्कोटा


नेपाल समाचारपत्र, काभ्रे

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सम्मान र चरित्रसहितको कम्युनिस्ट पार्टी भएकोले व्यक्तिले गरेका स्वभावजन्य गल्तीको भार पार्टीले नबोक्ने बताउनुभएको छ। पार्टी एकीकरणको प्रकृया शुरू भएकोले जिल्लाका सबै तह र वडा स्तरीय कमिटीको गठन दशैं सकिए लगत्तै शुरू हुने मन्त्री बाँस्कोटाले बताउनुभयो।

नेकपा काभ्रेको इन्चार्जसमेत रहनुभएका मन्त्री बाँस्कोटाले पार्टी एकीकरणको काम नसकिँदा सरकारले गरेका गतिविधिका बारेमा जनतालाई भन्नसमेत असहज भएको बताउँदै कमिटीले पूर्णता पाएसँगै पार्टीका काम र जनतासँग जोडिने विषयमा केन्द्रित हुने उहाँले बताउनुभयो।
नेकपा बनेपा नगर कमिटीले विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत् र छठ पर्वको अवसरमा बनेपामा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले उक्त धारणा व्यक्त गर्नुभएको हो।

‘भ्रष्टाचार र हुलहुज्जतका बारेमा पार्टीले जिम्मेवारी लिँदैन, व्यक्तिले गर्ने अपराध र चरित्रका बारेमा पार्टी जिम्मेवार हुँदैन’ –मन्त्री बाँँस्कोटाले निर्देशन दिँदै कार्यकर्तालाई भन्नुभयो– ‘पार्टीका सबै कार्यकर्ताले योजनाका नाममा होस् वा अन्य कुनै काममा होस्, भ्रष्टाचार गर्ने सोच नराख्नुस्, राख्नुभयो भने कारबाही हुनेछ।’
सहमति र विधिबाट पार्टीको एकीकरण टुंगायाउने बताउँदै मन्त्री बाँस्कोटाले पार्टी एकतासँगै पार्टीभित्र रहेका मतान्तर कम हुँदै जाने बताउनुभयो।
जिल्लाको समृद्धका लागि ठूलाठूला परियोजना सञ्चालन भइरहेको बताउँदै बनेपा नगर भित्रको पुण्यमाता करिडोरको निर्माण, खानेपानी, शिक्षामा आधुनिकीकरणलगायतका योजनामा रकम विनियोजन गरी कार्य शुरू गरेको मन्त्री बाँस्कोटाले बताउनुभयो।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य रामहरि सुवेदी, प्रदेश सभा सदस्य गोमा भुर्तेल, बनेपा नगर प्रमुख लक्ष्मीनरसिंह बादे, नेकपा नेता कुमार तिमिल्सिना, हरिदेव गिरी, भैैरव केसी, रत्नकुश रञ्जितकार, मुक्ति विष्टलगायतले नेकपाका कमिटी सक्रिय हुँदा जनतासँग जोडिन सहज हुने बताएका थिए।

चियापान कार्यक्रममा नेकपा बनेपाका नेता तथा कार्यकर्ता सहभागी थिए। नेकपा जिल्ला कमिटी काभ्रेमा पार्टी एकीकरण भए पनि सपथ हुन सकेको छैन। आगामी कार्तिक २ गते सपथ खुवाउने गरी सहमति भएको मन्त्री बाँस्कोटाले बताउनुभयो।